रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको राससले जनाएको छ ।

मङ्सिर १४ गते राति ८ बजे गरुडा नगरपालिका-५ महमदपुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको विभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको जनाइएको छ । झडपमा परेर १४ जना प्रहरी र गठबन्धनका तीन जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ ।

एक्कासि प्रहरीमाथि ठूलो सङ्ख्यामा रहेका गठबन्धनका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थित नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाई फायर र एक दर्जन अश्रुग्यास सेल प्रहार गर्नुपरेको गरुडा इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्द थापाले बताए ।

झडपमा परेर घाइते भएका तीनै जनाको टाउकामा चोट लागेको घाइतेमध्ये दुईजनाको चन्द्रनिगाहपुर अस्पताल र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको गठबन्धनले जनाएको छ ।

त्यसैगरी प्रहरीतर्फ १० र चारजना सशस्त्र प्रहरी गरी १४ जना घाइते भएका छन् । दुई जनाको टाउकामा टाँका लागेको, एकजनाको हात भाँचिएको, एकजना प्रहरीको छातीमा गम्भीर चोट लागेको र बाँकीलाई सामान्य चोटपटक लागेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

फोरमका नेता योगेन्द्र यादवले अन्य दलले आचारसंहिता उल्लङ्घन गर्दा प्रहरीले वास्ता नगरेको तर मधेसवादीमाथि दमन गरिरहेको आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालयका एसपी यज्ञविनोद पोखरेलले निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दलका कार्यकर्ताले काम गरेको पाइएमा अथवा सूचना आएमा नियमानुसार कारबाही गर्ने बताए ।


अनलाइन डेस्क