रौतहटको राजपुर नगरपालिकामा हैजाको प्रकोप बढ्दो

  ०८१ असोज ९ गते

राजपुर नगरपालिका-४ मा ०८१ असोज २ गते एक जनामा देखिएको झाडापखाला अहिले  सोही नगरपालिका वडा नं‍ ३ मा पनि फैलिएको छ ।

राजपुर नगरपालिका-३ र ४ हालसम्म ७१ जनामा हैजा फैलिएको राजपुर नगर स्वास्थ्य संयोजक खुर्सेद आलमले बताउनु भयो । एक जनामा देखिएको झाडापखालाको आइडिटि र कल्चर जाँच गरेपछि हैजा पुष्टि भएको प्रादेशिक अस्पताल गौरका डाक्टर मुरारी ठाकुरले बताउनु भयो ।

हालसम्म ७१ जनामा हैजा देखिएको जसमा पाँच वर्षमुनिका बालिका आठ जना, बालक १० जना, ६ देखि १० वर्ष उमेर समूहका बालिका चार जना, बालक १० जना, ११ देखि २० वर्ष उमेर समूहका छात्रा आठ जना, छात्र नौ जना र २१ देखि २३ वर्ष उमेर समूहका सात जना युवा र १५ जना युवती रहेकोमा १८ जनालाई राजपुर स्वास्थ्य केन्द्रमा राखेर उपचार गराइरहेको राजपुर नगरपालिका-४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज मिजानु रहमानले जानकारी दिनु भयो ।

तिब्र रुपमा फैलिएको हैजा अन्य वडाहरूमा नफैलियोस भनि नगर स्वास्थ्य संयोजक फुर्सेद आलम र प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज रहमानको आग्रहमा जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टोलिले असोज ५ गते हैजा प्रभावित क्षेत्रहरूमा स्थलगत अनुगमन र निरीक्षण गरेपछि राजपुर नगरपालिका-३ र ४ लाई असोज ६ गतेदेखि अर्को आदेश नआएसम्म  अर्थात रोग नियन्त्रण नभएसम्म निषेधित क्षेत्र घोषण गरिएको जिल्ला प्रसाशन कार्यालयका प्रमुख हिरालाल रेग्मिले बताउनु भयो ।

प्रादेशिक अस्पताल गौरको मिडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारि ठाकुर, इमर्जेन्सी इन्चार्ज डाक्टर राजेश कुमार सिंह लगाएतको टिम हैजा प्रभावित क्षेत्रहरूमा आवश्यक औषधि सहित पुग्नुभएको शिक्षक मन्सारुदिल देवानले बताउनु भयो ।

अहिले हैजा केहि मात्रामा नियन्त्रण भएको र अन्य ठाउँहरूमा फैलिन नदिन मानिसहरूको आवतजावतलाई समेत रोक लगाएको र असोज ७ गते १ बजेको समयसम्म ७१ जनामा ५३ जना डिस्चार्ज भएको र नयाँ थप नौ जनामा हैजा देखिएको स्वास्थ्य केन्द्रका कर्मचारी वाशिम अख्तर खानले बताउनु भयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले हैजा प्रभावित ठाउँहरूमा आवश्यक पर्ने औषधि उपलब्ध गराइ सकेको र अपुग भएमा थप औषधि पठाई छिट्टै रोग नियन्त्रण गर्ने इन्सेक रौतहट प्रतिनिधि गौरी न्यौपानेसँग भएको फोन सम्पर्कमा जानकारी गराउनु भयो ।


गौरी न्यौपाने