रोग फैलनु अघि प्रभावकारी प्रबन्ध मिलाउन अदालतद्वारा परमादेश जारी

बाँके र बर्दियामा गत कात्तिक महिनामा देखा परेको डेंगु र स्क्रब्स टाईफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयलाई उच्च अदातल नेपालगञ्जले आदेश दिएको चार महिना पश्चात मुद्दाको अन्तिम सुनवाइ गर्दै बाँके र बर्दियाका सरकारी कार्यालयका नाममा परमादेश जारी गरेको छ ।

उच्च अदालत नेपलागञ्ज इजलासका न्यायाधीशद्वय शेषराज शिवाकोटी र रमेशराज भण्डारीको संयुक्त इजलासबाट फागुन ११ गते उक्त आदेश दिएको हो ।

उक्त इजलासले बाँके र बर्दिया जिल्लामा डेंगु र स्क्रब्स टाईफसको महामारी फैलन सक्ने गम्भीर अवस्थालाई मध्यनजर गर्दै विपक्षी मध्येका जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र बर्दियालाई जिल्ला प्रशासन कार्यालयको सहयोग लिई सम्बद्ध सरोकारवाला निकायसँग सार्थक समन्वय गरी आवश्यक औषधि, उपकरणसमेत येथेस्ट आपूर्ति गराउन, स्टक राख्न, स्थानीय सञ्चारमाध्यमको सहयोग लिई जनचेतना कार्यक्रम अभियानका रूपमा सञ्चालन गराउन आदेश दिएको छ ।

आदेशमा सबै कार्यक्रमहरूको व्यवहारिक रूपमा प्रभावकारी कार्यान्वयका लागि नेपाल सरकारबाट आर्थिक स्रोत जुटाउने र दुवै जिल्ला विकास समिति र उपमहानगरपालिका, नगरपालिकाको सम्बन्धित विषयमा रहेको रकम अधिकतम रूपमा परिचालन गर्न भनिएको छ ।

दुवै रोग नियन्त्रणको हर सम्भव प्रयास गर्न र रोगबाट प्रभावित रोगीहरूको उपचारको समुचित प्रभावकारी प्रबन्ध मिलाई रोग फैलन सक्ने वर्षायाम सुरु हुनु अघि नै नियन्त्रणका कार्यहरू सुरु गर्न विपक्षहरूको नाममा आदेश जारी भएको छ ।

तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) का उपक्षेत्रीय प्रमुख आलम खानले सङ्क्रमण तथा महामारीको रोकथाम, जनचेतना र औषधि उपचारको माग गर्दै उच्च अदालतमा ०७३ कात्तिक १८ गते मुद्दा दर्ता गराएका थिए । उक्त रोगका कारण बाँके र बर्दियामा करिब एक सय जना सङ्क्रमित भएका थिए ।


इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज