रोगका कारण धानबाली नष्ट, कृषि प्राविधिकको सहयोग नपाएको कृषकहरुको गुनासो

  ०७९ भदौ १३ गते

धानखेतीमा राते रोग लागेका कारण धानबाली बिग्रिएर भोकमारीको अवस्था सृजना हुन लागेको मालिकार्जुन गाउँपालिका–६ बाँकुका कृषकहरुले गुनासो गर्नु भएको छ ।

मालिकार्जुन गाउँपालिका–६ बाँकुका मोहनसिंह महराले धान बालीमा राते रोग लागेपछि कृषि प्राविधिकहरुसँग जानकारी लिन प्रयास गरिएको भएपनि कृषि प्राविधिकहरु गाउँमा नआउँदा धानबाली नष्ट हुन पुगेको गुनासो गर्नु भयो ।

‘कृषि प्राविधिकको सल्लाह लिएर उपचार गर्न पाएको भए धानमा लागेको रोग निको हुन्थ्यो होला’ उहाँले भन्नु भयो । तर, प्राविधिक समय मै नपाउँदा यस वर्षको धान खेतीमा लगाएको मेहनत त्यसै खेर जाने भएको छ ।’

बाला लाग्नु पर्ने धानमा रोग लागेपछि यहाँका किसान चिन्तित छन् । जिल्लाकै सबै भन्दा बढि धान उत्पादन हुने क्षेत्र मालिकार्जुन गाउँपालिकाको बाँकु सेरामा लगाएको धानमा रोग लागेपछि कृषहरु चिन्चित भएका हुन् ।

photo20220829darchula (1)

तराई मधेशको जस्तो धान उत्पादन हुने यस क्षेत्रमा लगाइएको धानमा रोग लागेपछि यो वर्ष भोकमरी हुने चिन्ताले किसानहरु चिन्तित भएकाछन् ।

रोग लागेर बोट नसप्प्रने र बाला नलाग्ने भएपछि उत्पादन घट्ने निश्चित भएको अर्का किसान हिरा पालले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘ खेतबारीमा लगाएको धानबालीमा रोग लाग्दा कृषि प्राविधिक पाएनौँ । प्राविधिक पठाउन माग गर्दा पनि समय मै नपठाएको कारण धानबाली पूरै विग्रियो ।

माटोको परीक्षण नगरिकनै परम्परागत धानको बीउ लगाउने गरेको र मल र सिचाइको अभाव तथा कृषि प्राविधिकहरुको व्यवस्था नभएका कारण आफूहरुले यस्तो समस्या भोग्नु परेको स्थानीय कृषक रतनसिंह महरले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘यो वर्ष यस्तै अवस्था रहने हो भने धानै नफल्ने स्थिति छ । बाला लाग्नु पर्ने बेला बोट तलदेखि माथिसम्म सुकेको छ । कृषि प्राविधिक अहिलेसम्म आउनु भएको छैन् । मुख्यबाली धानमा नोक्सान भएको छ । यहाँका फाँटहरुमा धान मात्रै रोपाई गरिने भएकोले धानमा रोग लागेर नष्ट भएपछि भोकामारी हुने अधिक सम्भावना रहेको छ ।’

मालिकार्जुन गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश जोशीले किसानले समय मै जानकारी नगराउँदा धानबालीमा धेरै क्षति भएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हामीले प्राविधिकलाई स्थलगत अध्ययनका लागि पठाएका छाँै । बाकु क्षेत्रमा बढि क्षति भएको छ । धानमा मलको कमीले यो समस्या आएको हो । अहिले बाला लागिसकेका कारण औषधि हालेर पनि निको हुने सम्भावना छैन् । केही ठाउँमा औषधि गरेपछि ठिक पनि भएको छ । तर, बढि फैलिएको क्षेत्रमा समस्या नै छ । हामी कहाँ प्राविधिकको पनि अभाव रहको छ ।’

आठ ओटा वडा रहेको यस गाउँपालिकामा पाँच जना मात्र कृषि प्राविधिकहरू रहेको गाउँपालिका कृषि शाखा प्रमुख जोशीको भनाई छ । प्रयाप्त प्राविधिकहरूको अभावमा गाउँ गाउँमा कृषि प्राविधिकहरू पठाउन नसकिएको उहाँले बताउनु भयो ।

photo20220829darchula (2)

कृषकले लगाएको बालीमा रोग लाग्दा समेत कृषि प्राविधिकको सल्लाह नपाउँदा यो वर्ष यहाँका किसान समस्यामा परेको मालिकार्जुन गाउँपालिका–६ का वडाध्यक्ष गोकर्णसिंह धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘यो क्षेत्रमा समय मै मल र बीउ नपाउने अवस्था छ । अहिलेसम्म परम्परागत बीउबाटै खेती हुँदै गरिएको छ । यसमा सुधार गर्न आवश्यक छ ।’

गाउँपालिका अध्यक्ष हिरासिह धामीले किसानले धानबालीमा रोग लागेको सूचना समय मै नगराउँदा बाली बिग्रिएको भएपनि आगामी दिनमा हरेक वडामा कृषि प्राविधिक राख्ने गरी तयारी भइरहेको बताउनु भयो ।


नरेन्द्रसिह कार्की