रेविजविरूद्धको औषधी अभाव हुँदा बिरामी मर्कामा

  ०८१ फागुन २९ गते

जिल्ला अस्पताल, बझाङमा एक हप्तादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविज रोग विरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल, बझाङमा रेविजको सुई लगाउन आउने बिरामीहरू औषधी नगरी फर्कन बाध्य भएका छन् ।

अस्पतालमा एक हप्तादेखि भ्यासिक्न अभाव भएको जिल्ला अस्पताल, बझाङका प्रमुख डाक्टर नवराज जोशीले बताउनु भयो । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति स्वास्थ्य केन्द्र, धनगढीबाट यसअघि भ्याक्सिन आउने गरेकोमा पछिल्लो एक हप्तादेखि भ्याक्सिन नआएकोले समस्या भएको उहाँले बताउनु भयो ।

अस्पतालबाट पटक–पटक भ्याक्सिन माग भए पनि उपलब्ध हुन नसकेको र यो समस्या यस अस्पतालको मात्रै नभएर प्रदेशभरिका अस्पतालहरुमा रेविज रोग विरुद्धको भ्याक्सिन अभाव रहेको समेत डाक्टर जोशीले बताउनु भयो ।

रेविज विरुद्धको भ्याक्सिन औषधी पसलहरूमा भने प्रति भाइल ६ सय रुपियाँसम्म पर्ने गरेको छ । कुकुरले टोकेका व्यक्तिले तीन पटक रेविजविरुद्धको भ्यक्सिन लगाउनु पर्ने हुन्छ । जिल्ला अस्पतालमा दैनिक १०/ १५ जना बिरामी रेविज रोग विरुद्धको खोप लगाउन आउने गरेका छन् ।

छविसपाथिभेरा गाउँपालिका–६ माटेसाघुँका भुवन सिंहले छोरीलाई कुकुरले टोकेपछि फागुन १८ गते रेविज विरुद्धको खोप लगाउन जिल्ला अस्पताल गएको भए पनि खोप नभएको भनेपछि खोप नलगाएरै घर फर्किएको दुखेसो गर्नु भयो ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरिएको भएता पनि सरकारी अस्पतालबाट निःशुल्क रूपमा पाउने स्वास्थ्य सेवाबाट नागरिक वञ्चित हुनुपरेको छ ।


सत्यराज सिंह