रूपन्देहीमा ६२ मतदान स्थल अति सम्वेदनशील

  ०७९ असोज १५ गते

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि रूपन्देहीमा ६२ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार निर्वाचन स्थलको सुरक्षा विश्लेषण गरिए अनुसार १ सय २८ मतदान स्थललाई सम्वेदनशील र ७८ वटा निर्वाचन स्थल समान्य सूचीमा रहेका छन् ।

यसैगरी, रूपन्देहीमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता पुगेका छन् ।  जसमध्ये ३ लाख २७ हजार ४ सय ३३ पुरूष, ३ लाख ११ हजार ५ सय ११ महिला र आठ जना अन्य मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भन्दा १ लाख १६ हजार ३ सय ५० मतदाता बढेका छन् । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रूपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता रहेका थिए ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा कुल मतदाताको सङ्ख्या ६ लाख ३२ हजार ३ सय ६० रहेको थियो । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन यता मात्रै जिल्लामा ६ हजार ५ सय ९२ मतदाता बढेका छन् ।

जिल्लामा प्रतिनिधि सभा तर्फ पाँच वटा क्षेत्र र प्रदेश सभा तर्फ १० वटा क्षेत्र रहेका छन् । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सबै भन्दा धेरै मतदाता क्षेत्र नम्बर १ मा रहेका छन् भने सबै भन्दा कम क्षेत्र नम्बर ४ मा रहेका छन् ।

रुपन्देहीमा जम्मा ७ सय २ मतदान केन्द्र तोकिएका छन् ।  गत प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ५ सय ९८ मतदान केन्द्र र २ सय ८ मतदान स्थल रहेका थिए भने अहिले १ सय ४ मतदान केन्द्र थपिएसँगै मतदान केन्द्रको संख्या बढेर ७ सय २ पुगेको हो ।


रीमा बिसी