रूकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बाह्रै महिना खानेपानीको अभाव

  ०७९ चैत ३० गते

सिस्ने गाउँपालिका– ५ र ६ नम्बर वडा रुकुमकोटमा १२ महिना खानेपानीको अभाव हुने गरेको छ । खानेपानिको अभाव हुँदा त्यस क्षेत्रका स्थानीय मर्कामा परेका छन् ।

रुकुम पूर्वको सदरमुकाम रहेको उक्त क्षेत्रमा बस्ती बढिरहेकोले वर्षका १२ महिना पानीको अभाव हुँदै आएको स्थानिय भिमकान्त उपाध्यायले बताउनु भयो ।

वर्षातको समयमा यस क्षेत्रका स्थानीय दुषित पानी पिउन बाध्य हुन्छन् । जसका कारणले  स्वास्थ्यमा धेरै समस्या आउने, विभिन्न रोग लाग्ने समस्या हुँदै आएको उपाध्यायको भनाई छ ।

रुकुमकोटमा हाल थाग्न खोलास्थित राचु छहरा, ठाडोखोला मुहान, छिप्रीदह र लुष्पा मुहानबाट खानेपानी आपुर्ती भएपनि बस्ती ठुलो हुँदा पानीको अभाव हुने गरेको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख प्रकाश न्यौपानेले जानकारी दिनुभयो । यस क्षेत्रमा एक हजार घरधुरीले खानेपानीको समस्या भोगीरहेको न्यौपानेले बताउनु भयो ।

हाल उपभोग गर्दै आइरहेको पानी दिनमा दुई घण्टा मात्र आउने गरेको र त्यो पनि नियमित नभएको, शुल्क महङ्गो हुँदा आफूहरु मर्कामा परेको स्थानीय बिष्णु देवकोटाले बताउनु भयो ।

रुकुमकोटको खानेपानी समस्या समाधान गर्नका लागि सिस्ने गाउँपालिका– ५ मा आर्थिक वर्ष ०७७/०७८ मा ९ करोड रूपियाँको आयोजना सञ्चालन गरिएपनि हालसम्म पाँच प्रतिशत मात्र काम भएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयले जनाएको छ ।

यसैगरी, वडा नम्बर ६ मा २०७४ मा साबिकको जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालयबाट रुकुमकोट खानेपानीको  सह लगानीमा आयोजनाको टेण्डर भएपनि काम हुन नपाउँदै उक्त टेण्डर पनि रद्ध भएपछि खानेपानीको समस्या समाधान गर्न कुनै पहल नभएको स्थानीयहरूको भनाई रहेको छ ।

वर्षौँदेखि खानेपानीको समस्या हुदै आइरहे पनि समस्यालाई समाधान गर्न प्रयास गरीरहेको र छिट्टै समस्या समाधान गर्ने सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनु भयो ।


मनिषा केसी