रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

  ०७८ असोज २५ गते

सर्वोच्च अदालतले असोज २२ गते माइतीघर मण्डलामा रिले अनसनमा बसेको ठाउँबाट गिरफ्तारीमा परेकी नेपालगञ्जकी रुबी खानलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

खानको गिरफ्तारीविरुद्ध अधिवक्ता मोहना अन्सारीले सर्बोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन महानगरीय प्रहरी वृत्त लैनचौरका नाममा आदेश जारी गरेको हो ।

बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी र परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी बेपत्ता भएको अवस्थाबारे गम्भीर अनुसन्धानको माग गर्दै नेपालगञ्जबाट २० दिन पैदलै हिँडेर काठमाडौँ आएको रुबी खान नेतृत्वको टोलीले माइतिघर मण्डलामा असोज २२ गतेदेखि अनिश्चितकालिन रिले अनसन सुरु गरेको थियो ।

अनसनस्थलबाट खानलाई प्रहरीले गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेको थियो ।

खानको नाममा जिल्ला अदालत बाँकेमा बहुविवाहको मुद्दा रहेको भन्दै प्रहरीले शनिबार नेपालगञ्ज पठाएको थियो ।

अधिकारकर्मीको टोलीले रुबीको अवस्था सार्वजनिक गर्न माग गर्दै लगातार माइतिघर मण्डलामा प्रदर्शन गर्दै आइरहेको छ ।


विमल पौडेल