रुपनीको स्थगित निर्वाचन जेठ २ गते

  ०७९ वैशाख ३१ गते

मतदानका क्रममा हवाइ फायर भएपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ को निर्वाचन जेठ २ गते हुने भएको छ ।

रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा वैशाख ३१ गते बसेको सर्वदलीय बैठकले स्थगित मतदान जेठ २ गते बिहान ७ बजेदेखि गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताउनु भयो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, निर्वाचन अधिकृत कुमार मास्के, गणपति दुर्गाबहादुर थापा, एसपी अविनारायण काफ्ले, सशस्त्र प्रहरी प्रदिप खडकासहित राजनीतिक दलका प्रतिनिधी र उम्मेदवारहरूको उपस्थिति रहेको थियो ।

अपरान्ह सवा ४ बजे वर्षाले रोकिएको मतदान पुनः सुचारु भएको केहीबेरमा वैशाख ३० गते साँझ साढे ६ बजे दुई पक्षबिच झडपको स्थिति सृजना भएपछि उत्तेजित भिडलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेको जनाएको थियो ।

हवाइ फायरले मतदाताहरू तितरबितर भएकोले वैशाख ३० गते राति निर्वाचन स्थगित गरिएको सूचना टाँसिएको थियो ।


मनोहरकुमार पोखरेल