राहत स्वरूप बाँडिएको चामल कुहिएको पाएपछि स्थानीयद्वारा फिर्ता

  ०७६ चैत ३० गते

बडिमालिका नगरपालिकाले खाद्य संस्थानबाट खरिद गरी चैत २९ गते आफूहरूलाई राहत स्वरुप वितरण गरेको चामल कुहिएको अवस्थामा रहेको स्थानीयले आरोप लगाएका छन् ।

बडिमालिका नगरपालिकाले राहत स्वरुप वितरण गरेको चामल कुहिएको सोही नपा-४ का स्थानीय नरेन्द्र नाथले आरोप लगाउनु भयो ।

नगरपालिकाले आफ्नो टोलमा ६ बोरा चामल वितरण गरेको र ६ ओटै बोराको चामल कुहिएको अवस्था रहेको नाथको भनाइ छ । चामलमा डल्लासहित कालो ढुसी परेको स्थानीयको आरोप रहेको छ ।

photo20200411bajura (5)

राहत स्वरुप आफूहरूलाई उपलब्ध गराएको चामल फिर्ता लिन नगरपालिकालाई स्थानीयले अनुरोध गरेका छन् ।

वडिमालिका नगरपालिका-४ का १ सय ७५ परिवारलाई चामल वितरण गरिएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताउनु भयो ।

३० परिवारलाई २० केजीका दरले र १ सय ४५ परिवारलाई १० केजीका दरले राहतस्वरुप उक्त चामल वितरण गरिएको वडाध्यक्ष नाथले बताउनु भयो ।

photo20200411bajura (4)

ओलेना टोलका स्थानीयका लागि वितरण गरिएको ३० केजीका ६ बोरा चामल कुहिएको अवस्थामा पाइएकोले खाद्य संस्थानलाई नै फिर्ता गर्न लागिएको वडा अध्यक्ष नाथको भनाइ छ ।

ओलेना टोलबासीका लागि वितरण गरिएको चामल कुहिएको पाइए पनि अन्य व्यक्तिहरूले पाएको चामल खानयोग्य भएको वडा अध्यक्ष नाथले बताउनु भयो ।

तर, अन्य व्यक्तिहरूले पाउनु भएको चामल समेत खान योग्य नभएको स्थानीयको भनाइ छ ।  खाद्य संस्थानबाट नगरपालिकाले ३० किलोका ७० बोरा चामल खरिद गरेर नगरपालिकाकै वडा नम्बर ४ का स्थानीयलाई राहत स्वरुप वितरण गरेको थियो ।

नेपाल खाद्य संस्थान, बाजुरा शाखाका प्रमुख मेखराज ओझाले गत वर्षको मौज्दात रहेको चामल भएकोले कुनै बोराको चामल बिग्रिएको हुन सक्ने बताउनु भयो ।

photo20200411bajura (3)

उहाँले भन्नु भयो-'हामीले ३० केजीका बोरा विक्री गरेका हौँ । गत वर्षको मौज्दात रहेको चामल गोदाममा थियो । ढुवानीका क्रममा गत वर्षको चामल भएकोले बिग्रिएको हुन सक्छ । ६ बोरा चामल बिग्रिएको भेटिएकोले फिर्ता आएको छ ।'

बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले संस्थानको चामल खरिद गरी वितरण गर्ने निर्णय अनुसार नै चामल खरिद गरेर स्थानीयलाई वितरण गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो-'कुहिएको चामल छ भन्ने मलाई थाहा थिएन् । वडा नम्बर ४ का स्थानीयले गुनासो गरेपछि जानकारी पाएँ । हामीले त संस्थानको चामलमा कुनै कैफियत नहोला भनेर खरिद गरेका हौँ । चामल फिर्ता गर्न लगाएको छु ।'

प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले आफूलाई कुनै जानकारी नभएको तर गुनासो आएपछि खाद्य संस्थानसँग यस सम्बन्धमा जानकारी लिने बताउनु भयो ।


पदमबहादुर सिंह