राहत पाउन नसकेको द्वन्द्व पीडित परिवारको गुनासो

  ०७५ वैशाख ३० गते

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादीबाट १५ वर्षअघि हत्या गरिएका नौवहिनी गाउँपालिका-६ का झविलाल रिजाल, उनका भाइ (काकाको छोरा) बुद्धिप्रकाश रिजाल र मधु रिजालका घर परिवारले हालसम्म राहत नपाएको गुनासो गरेका छन् ।

झविलाल रिजालका २६ वर्षीय छोरा सुशील रिजालले उक्त गुनासो गरेका हुन् । उनले भने-'बावालाई तत्कालीन माओवादीले काका मधु रिजालको घरमा रहेको अवस्थामा ०६० मङ्सिर १ गते हत्या गरेका हुन् ।'

हत्या किन गरिएको थियो हालसम्म सम्बन्धित पक्षले जानकारी नगराएको सुशील रिजालले गुनासो गरे । माओवादीले झविलाल रिजालसँगै सोही दिन मधु रिजाल र बुद्धिप्रकाश रिजालको पनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुशील रिजालले बताए । उक्त घटनामा हत्या भएका तीन जनाकै परिवारले हालसम्म राहत पाएका छैनन् ।

राहतका लागि पटकपटक स्थानीय शान्ति समिति, जिल्ला प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुर्‍याई निवेदन दिएको भएपनि हालससम्म राहत नपाएको गुनासो झविलालको परिवारले गरेका छन् ।

'वास्तवित द्वन्द्व पीडितले राहत पाउन सारै कठिन छ ।'-सुशीलले भने । नौबहिनी गाउँपालिका-६ नम्वर वडाका वडा अध्यक्ष माधवसिंह केसीले पीडितले राज्यबाट पाउनु पर्ने राहत मागका लागि आफूले जिल्लास्थित स्थानीय शान्ति समितिसमक्ष पहल गरेपनि सुनुवाइ नभएको बताए ।

स्थानीय शान्ति समितिका कार्यालय सचिव कमल थपलियाका अनुसार मृतकका परिवार समयमा शान्ति समितिमा आएनन् । पछिल्लो समयमा शान्ति समितिमा राहतका लागि निवेदन दिएपछि आफूहरूले जिल्लाबाट राहतका लागि सिफारिस गरी मन्त्रालयमा पठाएको भएपनि केन्द्रबाट राहत नआएको थपलियाले बताए ।

नौबहिनी गाउँपालिकका अध्यक्ष शिव रिजालले जिल्लाको सबैभन्दा बढी द्वन्द्व पीडित भएको गाउँपालिका नौबहिनी भएको र अहिलेको सन्दर्भमा जिल्लास्थित शान्ति समिति पनि नरहेकाले यस नौबहिनी गाउँपालिकामा रहेका वास्तविक द्वन्द्व पीडित पहिचान गरी आवश्यक कानुनको निर्माण गरेर सबै द्वन्द्व पीडितको न्याय हुने खालको राहत तथा जीवनयापन गर्ने कार्यक्रम लागु गर्ने बताए । उनले राहत पाउनबाट वञ्चित द्वन्द्व पीडितलाई जसरी भएपनि यस गाउँपालिकाले राहतको वातावरण निर्माण गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले यस घटना सम्बन्धमा आफूलाई एकीन जानकारी नभएको बताए । पहिलाको जस्तो जिल्लाबाट राहतका लागि निर्णय गरेर पठाउने अवस्था हाल नभएपनि राहत नपाएको भन्दै कोही सम्पर्कमा आए जिल्लामा रेकर्ड राखी मन्त्रालय पठाइने बताए ।

इन्सेकद्वारा प्रकाशित द्वन्द्व पीडित पार्श्वचित्रमा प्यूठान जिल्लामा १ सय १२ जना पीडित रहेका छन् । जसमध्ये १ सय १० जना हत्या भएका छन् भने दुई जना अङ्गभङ्ग भएका छन् । इन्सेकद्वारा प्रकाशित सशस्त्र द्वन्द्वमा मध्यपश्चिम मध्यपश्चिमले गुमाएकाहरू पुस्तकको पृष्ठ ४३ मा झविलाल, बुद्धिप्रकाश र मधु रिजालको घटना अज्ञात समूहारा हत्या गरिएकाको विवरणमा उल्लेख छ ।

स्थानीय शान्ति समिति प्यूठानका सचिव कमल थपलियाका अनुसार जिल्लामा ६ सय ९९ द्वन्द्व पीडित रहेका छन् । जसमध्ये २ सय ८७ जना द्वन्द्व पीडितले हालसम्म राहत पाउन सकेका छैनन् । राहत नपाउनेमा मृतक तीन, अङ्गभङ घाइते १ सय ११, अपहरण १ सय ४९ र सम्पति क्षतिका २४ जना पीडित रहेका छन् ।


रविन्द्र पाण्डे