राहतको पहल गरिदिन इन्सेक प्रतिनिधिसँग द्वन्द्व पीडितहरूको आग्रह

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचयपत्र प्राप्त गरेको तर अहिलेसम्म कुनै राहत नपाएकोले न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष आग्रह गरेका छन् ।

आफूजस्ता धेरैले द्वन्द्व पीडितको नाममा राहत पाउने तर आफूमाथि पक्षपात भएको द्वन्द्व पीडित उत्तरगया गाउँपालिका-२ का ३७ वर्षीय सन्तोष अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर द्वन्द्व पीडित परिचयपत्र प्राप्त गरेका तर अहिले आफू जस्ता धेरैको राहत पाउने सूचिबाट नाम हटेको द्वन्द्व पीडित अधिकारीले भन्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले द्वन्द्व प्रभावितका लागि सहायता गर्ने सम्बन्धी कार्य विधि २०७५ अनुरुप द्वन्द्व प्रभावित भएका परिवारलाई शिक्षा, स्वास्थ्यलगायत सीप विकासमा सहयोग गर्न विवरण माग गरे पनि आफूहरू वञ्चित भएकोले न्यायका लागि पहल गरिदिन अधिकारीले आग्रह गर्नुभयो ।

द्वन्द्व पीडितको अधिकार रक्षाका निमित्त आवाज उठाइदिन उहाँको अनुरोध थियो । उहाँलाई तत्कालीन द्वन्द्वको समयमा नेकपा माओवादी कार्यकर्ताले कुटपिट तथा अपहरण गरी यातना दिएका थिए भने ०६४ को संविधानसभा निर्वाचनको समयमा समेत माओवादी कार्यकर्ताको आक्रमणबाट घाइते हुनुभएको थियो ।

विगतमा उत्तरगया गाउँपालिकामा केही द्वन्द्व पीडित व्यक्तिहरू लगत लिन छुटेको छ । अपाङ्गता भएका तथा घाइतेले आर्थिक अभावमा उपचार समेत गर्न नसकेको अधिकारीले भन्नुभयो । यस्तो समस्या समाधानका लागि अधिकारकर्मीहरूले पहल गरिदिनु पर्ने उहाँको भनाइ छ ।

त्यसैगरी ०५८ भदौ ९ गते माओवादीलाई सघाएको आरोपमा प्रहरीले गिरफ्तार गरी एक महिनासम्म थुनामा राखेर यातना दिएको उत्तरगया गाउँपालिका-५ का सूर्यलाल डङ्गोल र विभिन्न समयमा तत्कालिन माओवादीलाई सघाएको आरोपमा तत्कालीन नेपाली सेनाले तारिख लगाई दुख दिएको कालिका गाउँपालिका-२ द्वन्द्व पीडित ८६ वर्षीय अमरबहादुर ढकालले पनि स्थानीय तह तथा तत्कालीन शान्ति समितिबाट प्रदान हुने राहत नपाएको गुनासो गर्नुभयो ।

'न स्थानीय तहले न कुनै सरकारले हाम्रो आवाज सुन्यो परिवर्तनको कसरी महसुस गर्ने' ढकालले भन्नुभयो । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गर्दै पीडितको आवाज उठाइदिन र न्यायका लागि पहल कदमी लिन आग्रह गर्नुभयो ।

कालिका गाउँपालिकामा एक जना बेपत्ताको बेखबर भएकोले बुबा आमा समस्यामा छन् । कालिका गाउँपालिका-३ धारापानीका २५ वर्षीय एमाओवादी कार्यकर्ता नरेन्द्रबहादुर तामाङलाई तत्कालीन शाही नेपाली सेनाले ०६१ मङ्सिर ७ गते काठमाडौँ कलङ्कीबाट गिरफ्तार गरेकोमा हालसम्म बेपत्ता छन् ।

'छोरा फर्कने आशा अझै मरेको छैन खोजीका लागि पहल गरिदिनु न' नरेन्द्रकी आमा देवलक्ष्मी तामाङले भन्नुभयो ।

संविधानसभा मार्फत नयाँ संविधान तथा सङ्घीयता घोषणा भएको लामो समय भएपनि मुलुकको अमुल परिवर्तनका लागि विभिन्न आन्दोनमा ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितको समस्या भने उस्तै छ ।


हेमनाथ खतिवडा