राहतको पर्खाइमा आगलागी पीडित !

  ०८१ माघ २७ गते

दोस्रो वृहत सल्यान महोत्सवमा आगलागी भएपछि पीडितहरू राहतको पर्खाइमा रहेका छन् । माघ १८ गतेबाट जारी श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सवमा ०८१ माघ २६ गते राति ११ बजे आगलागी हुँदा ८० ओटा स्टल जलेर नष्ट भएका छन् ।

महोत्सवमा व्यवसाय राम्रो होला भनेर आए पनि आगलागीले सबै सामान नष्ट हुँदा राहतको आवश्यकता रहेको पीडित दिपक कार्कीले बताउनु भयो । ‘यही महोत्सवबाट कमाएर केही गलौँला भनेर ऋण गरेर सामान ल्याइयो । तर सबै सामान आगोले नष्ट गरिदियो । कसैले राहत दिए सहज हुने थियो’ - उहाँले भन्नुभयो । राहतमा ढिलाई हुँदा बास्नै समस्या परेको अर्का पीडित लिलाबहादुर दाहालले गुनासो गर्नुभयो । ‘आगलागी भएको डेढ दिन भइसक्यो । अहिलेसम्म हामीले राहत पाउन सकेका छैनौँ । आयोजकले दिने होकी कसले दिने हो अन्यौलमा छु’ - उहाँले भन्नुभयो ।

कुल १ सय ३५ ओटा स्टलमध्ये ८० स्टल नष्ट हुँदा ४ करोड ५० लाख रुपियाँ बरारबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डिएसपी केशरकुमार न्यौपाने जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सल्यानका अध्यक्ष प्रेम नारायण विकले पीडितलाई राहतका लागि विभिन्न निकायसँग अनुरोध गरिएको र घटनाको छानविनका लागि प्रहरीसँग समन्वय गरिरहेको बताउनु भयो ।


जगतदल जनाला विक