राष्ट्रिय सभा सदस्य निर्वाचनको इन्सेकद्वारा पर्यवेक्षण

  ०७८ माघ १२ गते

प्रदेश १, मा राष्ट्रिय सभा सदस्य पदका तीन सिटका लागि माघ १२ गते भएको निर्वाचनको इन्सेकले पर्यवेक्षण गरेको छ ।

इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, इन्सेक प्रदेश १ प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी र पत्रकार महासङ्घ मोरङका सचिव नेत्र अधिकारीसहितको टोलीले राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनको पर्यवेक्षण गरेको हो ।

आगामी फागुन २० गतेदेखि प्रदेश १ बाट प्रतिनिधित्व गर्ने तीन जना सदस्य अगमसिंह वान्तवा, नैनकला ओझा र पर्शुराम मेघी गुरुङको कार्यकाल सकिँदैछ । सोही पदका लागि भएको निर्वाचनको इन्सेकले पर्यवेक्षण गरेको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।

Photo 20220126 Morang (1)

Photo 20220126 Morang (2)

Photo 20220126 Morang (5)

प्रदेश १, मा तीन सिटका लागि निर्वाचन भएको छ । अन्य, महिला र अपाङ्गता वा अल्पसङ्ख्यक गरी तीन सिटका लागि आठ जनाले उम्मेदवारी दिएका थिए ।
अन्य समूहमा नेपाली का‌ंग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता वा अल्पसङ्ख्यकमा जनता समाजवादी पार्टीका हेमराज राईको उम्मेदवारी छ ।

नेकपा एमालेले अन्यमा गुरु बराल, महिलामा सुमित्रा सुवेदी भण्डारी र अपाङ्गता वा अल्पसङ्ख्यकमा सोनाम गेल्जेन शेर्पाको उम्मेदवारी दिएको छ । राप्रपाबाट अन्यमा अम्वरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेलको  उम्मेदवारी परेको छ । राप्रपासँग गठबन्धनका लागि एमालेले गरेको प्रयास सफल हुन नसकेपछि राप्रपा एक्लै चुनावी मैदानमा छ ।

प्रदेश १ मा स्थानीय तह र प्रदेश गरि ९ हजार ३ सय १२ मतभार छ । जसमा नेकपा एमालेको ४ हजार ५ सय २४ रहेको छ । एमालेको स्थानीय तहमा २ हजार ५ सय ५६ र प्रदेशमा १ हजार ९ सय ६८ मतभार छ ।

स्थानीय तहका प्रमुख–उपप्रमुख १ सय ४२ जना र प्रदेशका ४१ जना सांसद रहेका छन् । पाँच दलीय गठबन्धनको मतभार ४ हजार ६ सय ६८ रहेको छ । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।

कांग्रेसको स्थानीय तहमा १ हजार ७ सय २८, प्रदेशमा १ हजार ८ मतभार छ । माओवादी केन्द्रको स्थानीय तहमा २ सय ८८, प्रदेशमा ७ सय २०, एकीकृत समाजवादीको स्थानीय तहमा १ सय ८० र प्रदेशमा ४ सय ८०, जनता समाजवादीको स्थानीय तहमा ७२ र प्रदेशमा १ सय ४४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेशमा ४८ मतभार छ ।

राप्रपाको १ सय २० मतभार रहेको छ । राप्रपाको स्थानीयमा ७२ र प्रदेशमा ४८ मतभार छ । सत्ता गठबन्धन र एमालेको मतभारको अन्तर १ सय ४४ छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख–उप प्रमुख र प्रदेश सांसद मतदाता रहेका छन् । स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १८ र प्रदेश सांसदको मतभार ४८ छ । निर्वाचनमा १ सय ३५ स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय ७२ र ९२ सांसद गरी ३ सय ६४ मतदाता छन् ।

कडा सुरक्षा व्यवस्था-

राष्ट्रिय सभा निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ । कोभिड–१९ को महामारीका समयमा निर्वाचन भएकाले स्वास्थ्य मापदण्डसहित कडा सुरक्षा व्यवस्थाबिच राष्ट्रिय सभाको निर्वाचन गराएको प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कश्यप अधिकारीले बताउनु भएको छ ।

Photo 20220126 Morang (4)

Photo 20220126 Morang

स्थानीय तहका प्रमुख,उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेश सांसदका लागि बाली संरक्षण प्रयोगशालामा मतदान केन्द्र राखिएको राष्ट्रिय सभा निर्वाचन अधिकृत भरत लम्सालले बताउनु भयो । मतदान केन्द्रमा जनपथ, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका ३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनार्दन जिसीले बताउनु भयो ।

तीन जना मतदाता अनुपस्थित-

राष्ट्रिय सभा निर्वाचनका लागि तीन जना मतदाता अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कश्यप अधिकारीले बताउनु भयो । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि तय गरिएको निर्वाचनमा विराटनगर महानगरपालिकाकी उपप्रमुख ईन्दिरा कार्की, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराज श्रेष्ठ र  प्रदेश सांसद गुलेफुन मियाँ अनुपस्थित रहेको निर्वाचन कार्यालय प्रमुख लेवन कश्यप अधिकारीले बताउनु भएको छ । सांसद मियाँ सरकारी कागज किर्ते मुद्दामा उच्च अदालतबाट दोषी ठहर भई फरार रहेको प्रहरीले जनाएको छ ।

Photo 20220126 Morang (6)

Photo 20220126 Morang (7)

Photo 20220126 Morang (8)

Photo 20220126 Morang (9)

मतदातालाई खोप कार्ड अनिवार्य-

कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड अनुसार नै मतदाताहरूलाई मतदान केन्द्रमा प्रवेश दिइएको थियो । मतदाताहरूलाई खोप कार्ड अनिवार्य गरी मतदान केन्द्रमा प्रवेश गराइएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताउनु भएको छ ।


इन्सेक प्रदेश १, कार्यालय विराटनगर