राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि कारागारमा सुधार

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि चौतारा जेलमा सुधार भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले असार ५ गते जेलभित्र एक कार्यक्रम राखेर सो कुराको घोषणा गरेकी हुन् ।

भूकम्पले ध्वस्त बनाएपछि यसवर्ष मात्र सञ्चालनमा आएको चौतारा कारागारमा बन्दीहरूलाई घुम्ने ठाउँको अभाव मात्र होइन पुस्तकालय, खेल खेल्ने ठाउँ र सीप सिक्ने ठाउँ समेतको अभावका कारण कैदी बन्दीहरूलाई ठूलो समस्या थियो ।

चौतारा सागाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा सो समस्या अहिलेको लागि समाधान भएको साहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदिप पाठक र इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालको संयुक्त टोलीले जेठ २ गते चौतारा जेल अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कैदीबन्दीहरूलाई घुम्ने ठाउँ र पुस्तकालयको अभाव भएकोले प्रमुख जिल्ला अधिकारीलाई सो कुराको पुर्ति गर्न आग्रह गरिएको थियो ।

आज असार ५ गते जेलभित्र रहेका सबै कैदीबन्दीहरू र सरोकारवालाहरूको अन्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले अधिकारकर्मीहरूको अनुरोधलाई पुरा गर्ने जमर्को गरेको बताइन् । चौतारा कारागारमा ३२ जना थुनुवा र ८३ जना बन्दी गरी १ सय १५ जना पुरूषहरू रहेका छन् ।


नातिबावु धिताल