राष्ट्रिय परिचयपत्र अनिवार्य सूचनाले ज्येष्ठ नागरिकलाई सास्ती
सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य सूचनाले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सास्ती खेप्नु परेको छ ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको छ । मन्त्रिपरिषद्को गत जेठ २४ को निर्णयानुसार पहिलो चरणमा २८ जिल्लामा आगामी १ साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्र बनाउने भिड लागेपछि ज्येष्ठ नागरिकलाई सास्ती भएको छ ।
छत्रेश्वरी गाउँपालिका ज्येष्ठ नागरिक छवि कामीले राष्ट्रिय परिचयपत्र नभए साउनबाट भत्ता पाइदैन् भनेर वडाअध्यक्षले भनेपछि प्रशासन कार्यालयमा आएर लाइन लागेको बताउनुभयो । ‘बुढेसकालमा घण्टौं सम्म लाइन बस्नुपर्ने बाध्यता आफूहरुलाई ठूलो सास्ती भएको छ । हामी त आफ्नो अनुकूल मिलाएर आउने थियौँ तर जनप्रतिनिधिले भनेपछि मान्नै पर्ने भो । यो गर्मीमा सास्ती बढी भयो’ उहाँले भन्नुभयो ।
अर्का ज्येष्ठ नागरिक ढारी थापाले राष्ट्रिय परिचयपत्र बनाउन आउदा निकै सास्ती भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘ हाम्रो त पालो नै आउन धौँ भो । हिजो अस्ती कै फाइल त्यसै छ भन्नुहुन्छ । यो गर्मीमा लाइन लाग्दैमा दिन बित्योे । बस चढ्दा बान्ता हुन्छ । हिडेर आउन तीन घण्टा लाग्छ । अब जान तीन घण्टा लाग्ने हो । मलाई निकै समस्या बनाएको छ । गर्मीमा बिरामी हुने अवस्था आएको छ । ’ दिन भरि लाइनमा बसेर कतिपय जेष्ठ नागरिकलाई आज पालो आउदैन् भनेर प्रशासनले फिर्ता पठाएको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा साउन १ गते देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भन्ने छैन् । तर ग्रामीण भेगका सबै जेष्ठ नागरिकमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भन्ने सुनेपछि राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा आउनेको सङ्ख्या बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘जिल्लामा यो नियम तत्काल लागु हुदैन्, तर जनप्रतिनिधि मार्फत सबै ज्येष्ठ नागरिकलाई तत्काल राष्ट्रिय परिचयपत्र बनाउनु, नत्र सामाजिक सुरक्षा भत्ता पाइदैन् भनेर अपुष्ट सूचना सम्प्रेषण भएपछि राष्ट्रिय परिचयपत्रका लागि आउने ज्येष्ठ नागरिकको सङ्ख्या धेरै छ ।’ उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचयपत्रका लागि ज्येष्ठ नागरिकहरु टन्टलापुर गर्मीमा सदरमुकाम सम्म आइपुगेका छन् । ‘प्रशासनमा हालसम्म एक ठाउँबाट मात्रै राष्ट्रिय परिचयपत्रको काम हुन्छ, त्यो भनेको दैनिक करिब ४० जना हो, तर अहिले भिडभाड धेरै भो, राहदानी बनाउनेको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य छ, यसैमा ज्येष्ठ नागरिक थपिदा समस्या भइरहेको छ, पालो पर्खदैँमा २/३ दिनसम्म लाग्ने गरेको छ, यो बाध्यता हो’ उहाँले भन्नुभयो ।
राष्ट्रिय परिचयपत्र आवश्यकता भएपनि अहिले नै तत्काल बनाउनु नपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो ‘जिल्लामा पनि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्यको व्यवस्था पुस–माघ अघि लागु हुने सम्भावना छैन्, त्यसैले टन्टलापुर गर्मीमा गाउँ–गाउँबाट राष्ट्रिय परिचयपत्रकै लागि आउनु पर्दैन् । जिल्ला प्रशासनमै थप अर्को ठाउँबाट राष्ट्रिय परिचयपत्रको कामको सुरुवातको लागि इलाका प्रशासन कार्यालय थारमारेको लागि माग गरेका छौँ । अहिले पनि ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएका छौँ ।’
हाल प्रशासनमा दैनिक २ सय जनासम्म राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् ।
दराजमै थन्किए २२ हजार थान राष्ट्रिय परिचयपत्र
राष्ट्रिय परिचयपत्र लिने नागरिक नआउँदा करिब २२ हजार थान राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयको दराजमै थन्किएको छ । ०७६ देखि भरिएको राष्ट्रिय परिचयपत्र आए पनि नागरिक लिन नआउँदा राष्ट्रिय परिचयपत्र दराजमै थन्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म ३७ हजार ३ सय ३७ जनाको दर्ता गरिएकोमा कार्यालयमा २३ हजार ७ सय २३ थान राष्ट्रिय परिचयपत्र आएका छन् ।
तर हालसम्म जम्मा १ हजार ४ सय ८२ जनाले मात्रै कार्ड लगेको राष्ट्रिय परिचयपत्र शाखाका कम्प्युटर अपरेटर मुकेश थापाले जानकारी दिनुभयो । परिचयपत्र लिन आउँदा पनि फाराम भरे जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले नै सबै मिलेको जनाएपछि परिचयपत्र प्रदान गरिने उहाँको भनाइ छ । परिचयपत्र आएको बारेमा मोबाइल नम्बरबाट पनि जानकारी हुने गर्छ ।
‘राष्ट्रिय परिचय पत्र लिन आफै आएर आएर पहिलेकै जस्तो दस्तखत भिडाउनुपर्छ’ उहाँले भन्नुभयो ‘०७६ सालदेखि फारम भरेका परिचयपत्र आएका छन्, तर लिन कोही नआउदा त्यसै थन्किएर बसेको छन् ।’
बुद्धिमान पुन
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…