राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको राससले जनाएको छ ।

विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । असोज ३० गते सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन् । एशिया प्रशान्त क्षेत्रको चार सिटमध्ये एकमा नेपाल निर्वाचित भएको हो ।

संयुक्त राष्ट्रसङ्घको विश्वभर मानव अधिकार रक्षा र प्रवर्धनका लागि स्थापित उच्चस्तरीय अन्तरसरकारी संयन्त्रका रूपमा उक्त परिषद्ले काम गर्ने गर्छ ।

नेपाललगायतका देशले आगामी जनवरी १, २०१८ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट वहन गर्ने भएका छन् । नेपालले गत अगष्टमा न्यूयोर्कस्थित स्थायी नियोगबाट उम्मेदवारी दिएको थियो ।


अनलाइन डेस्क