रायडिहीवासी खोलाको दुषित पानी पिउँन बाध्य

  ०८१ वैशाख ९ गते

कमलामाई नगरपालिका–४ रायडिहीका ३५ घर परिवार खोलाको दुषित पानी पिउँन बाध्य छन् ।

गाउँमा वर्षौदेखि खाने पानीको अभाव हुँदा स्थानीयहरू खोलाको पानी पिउँन बाध्य भएको कमलामाई नगरपालिका—४ का गंगाबहादुर बिशंकेले बताउनु भयो ।

“नेवारर्नी खहरे खोलामा एउटा कुवा खनेर पानी ल्याएर उपभोग गर्ने गरेका छौं फोहोर पानी भए पनि गाउँ नजिकको मुहान यही हो । पानी फिल्टर गरेर उपभोग गर्ने व्यवस्था छैन् । सबै गाउँलेले यही खोलाको पानी जम्मा गरेर उपभोग गर्ने गरेका छौ ।,”  बिशंकेले भन्नुभयो ।

बर्षातको समयमा मात्र धारामा पानी आउने त्यसपछि मुहानमा नै पानी नहुँदा यस वर्ष असोजदेखि नै खोलाको पानी उपभोग गर्दै आएका छन् ।  स्थानीयहरूले प्रयास गरेपनि गाउँमा ठुलो आयोजना आउन नसक्दा खानेपानीको अभाव वर्षौदेखि कायम रहेको बिशंकेको भनाई रहेको छ ।

परम्परागतरुपमा प्रयोग हुँदै आएको कुवाको संरक्षण नभएको र गाईबस्तुका लागि पनि खोलाबाटै पानी बोकेर खुवाउनुपरेको छ ।

खानेपानीको लागि पटक पटक आग्रह गरेको भए पनि अहिलेसम्म सुनुवाई भएको छैन् । घर घरमा खानेपानी धारा हुनु पर्ने बेला यो वस्तीका नागरिक अहिले पनि खोलाको फोहोर पानी पिउँनु पर्ने बाध्यता रही आएको स्थानीय भोजकुमारी आचार्यले बताउनु भयो ।

वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले रायडिहीका स्थानीयको खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताउनु भयो । सानो लगानीले खानेपानीको समस्या समाधान नहुँने भएकाले यस वर्ष २० लाख रुपियाँ विनियोजन गरि खानेपानीको पहुँच पु¥याउन उपभोक्ता समिति गठन गरिएको उहाँले बताउनु भयो ।

अध्यक्षका अनुसार खोलामा इनार बनाएर लिफ्टबाट पानी वितरण गर्ने गरिकाम सुरू गरिएको र यसै आर्थिक वर्षमा एक घर एक धाराको लक्ष्य पुरा गरिने छ । स्थानीयको सक्रियता भए यस वर्षबाट खानेपानीको समस्या समाधान हुने उहाँको भनाई छ ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईको हकको व्यवस्था गरिएको भएपनि यस क्षेत्रका स्थानीय नागरिकहरू स्वच्छ पिउँने पानी नपाउँदा समस्या भोग्दै आएका छन् ।


नबिनबाबु अधिकारी