रामेछापमा ठूला दलबाटै आचारसंहिता उल्लङ्घन

  ०७९ मङ्सिर ३ गते

०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता जिल्लामा ठूला राजनीतिक दलबाटै उल्लङ्घन भएको छ ।

राजनीतिक दलहरूले निर्वाचन प्रचारको क्रममा निर्वाचन आयोगले तोके भन्दा बढी सवारी साधनाको प्रयोग तथा भोज भतेर गर्न कार्य पनि अनुगमनको क्रममा पाइयो ।

गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली कांग्रेस पूर्णबहादुर तामाङ कान्छारामले रामेछाप बजारमा आयोजना गरेको कार्यक्रममा खसी काटेर भोज लगाउनुभएको थियो । कांग्रेस र माअ‍ोवादीले संयुक्त चुनावी सभा गरेको सबै कार्यक्रममा सहभागीलाई खसी काटेर भोज खुवाएका थिए ।

त्यस्तै नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलको ०७९ कात्तिक २० गते खाँडादेवी गाउँपालिकाको गोगन पानीमा आयोजित कार्यक्रममा पनि खसी काटेर भोज खुवाइएको थियो ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले विभिन्न ठाउँमा गेट बनाएर फ्लेक्स प्रिन्ट राखी प्रचार गरेका गरेका थिए । नेपाली कांग्रेसको प्रतिनिधि समा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम तथा गठबन्धनबाट प्रदेश सभा क मा माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठको प्रचारको लागि लिखु तामकोसी गाउँपालिका ३ र ४ मा प्रचार गेट बनाइएको थियो ।

यसैगरी मौन अवधिमा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरूले सामाजिक सञ्जाल मार्फत प्रचार गरिरहेका छन् ।

सामाजिक सञ्जालमा बालबालिकालाई प्रयोग गरी भिडियो तथा टिकटक बनाएर प्रशारण गरिएको छ । राजनीति दलका नेताहरूले विद्यालयमा समेत भेला तथा बैठक गरेको पाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले समेत रामेछाप लगायतका जिल्लामा चुनावको प्रचार प्रसारमा बालबालिका प्रयोग गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ । राजनीतिक दलका कोण सभामा बालबालिकाहरू झण्डा बोकेर सहभागी भएका पाइएको छ ।


नवराज पथिक