रामगोपालपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ६ जना घाइते

  ०७९ मङ्सिर २९

रामगोपालपुर नगरपालिकामा स्थानीय प्रदर्शनकारी र प्रहरी बीच मङ्सिर २९ गते झडप भएको छ । झडपमा परी सुरक्षाकर्मी सहित ६ जना घाइते भएका छन् ।

मङ्सिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि औरही नपा–१ माइतबाट रामगोपालपुुर नगरपालिका घर फर्किएकी नेहा चौधरीले घर प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको प्रदर्शनले झडपको रुप लिएको हो ।
घरमा प्रवेश नपाएपछि महोत्तरीमा कुमारी आमाको नामले चर्चा पाएकी निहारीका सिंह राजपुतको नेतृत्वमा नेहा आफ्ना पति डा. पंकज चौधरीको घरमा प्रवेश पाउनुपर्ने माग राख्द घरको गेटमा धर्ना बसेकी थिइन् ।
निहारिकाको नेतृत्वमा मङ्सिर २८ गतेदेखि केहि युवाहरुलाई समर्थनमा लिई रामगोपालपुर चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका थिए । आन्दोलनको क्रममा मङ्सिर २९ गते आन्दोलनकारीहरुले प्रदर्शन गर्दै रामगोपालपुर नगरपालिकामा ढुङ्गामुढा गर्दा दुई जना सशस्त्र प्रहरी, एक जना नेपाल प्रहरी र तीन जना नगर प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

स्थिती विग्रिदै गएपछि आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले जानकारी दिनु भयो ।

घाइते हुनेहरुमा नेपाल प्रहरी सहायक हवलदार मुकेश प्रसाद यादव, सशस्त्र प्रहरी जवान शिवसागर कुँवर, कमलेस प्रसाद यादव रहेका छन् भने रामगोपालपुर नगरपालिकाका नगर प्रहरी कृष्ण पण्डित, गंगाराम राय र सुरेश राय घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानिय स्वास्थ्य क्लिनिकमा भइरहको एसपी पंगेनीले जानकारी दिनु भयो ।

नगपालिकामाा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई आज गिरफ्तार गरेको प्रहरीले जनाएको छ । नेहा र निहारिकालाई गिरफ्तार गरेपछि स्थिती नियन्त्रणमा आएको एसपी पंगेनीले जानकारी दिनु भयो ।

पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छोडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको आन्दोलनको नेतृत्व गरेकी निहारिकाले बताइन् ।

यसैबीच रामगोपालपुर नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै नगरपालिकामा ढुङ्गामुढा, तोडफोड, आगजनी गरी क्षति पुर्‍याएको तथा ढुङ्गामुढाबाट कर्मचारी समेत घाइते भएको हुँदा आन्दोलनको नेतृत्वकर्ता निहारिका सिंह राजपुत र नेहा चौधरी उपर कारवाही तथा क्षतिपूर्ति भराउनको लागि माग गरेको छ ।

रामगोपालपुर नगरपालिकाका मेयर रामदुलार साहले जारी गरेको विज्ञप्तीमा मङ्सिर २८ र २९ गते दुई दिन नेहा चौधरी र निहारीका राजपुतको अगुवाइमा रामगोपालपुर नगरपालिकामा भएको तोडफोड, आगजनी र दुगामुढाबाट सुरक्षाकर्मी र कर्मचारीहरुलाई घाइते बनाएको घटनाप्रति रामगोपालपुर नगरपालिकाका मेयर तथा प्रमुख प्रशासकीय अधिकृतको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमा महोत्तरी जिल्ला औरही नपा–१ की नेहा चौधरीको नौ महिना अगाडि रामगोपालपुर नपा–५ का पंकज चौधरीसँग भएको विवाह पश्चात नेहा चौधरीलाई पति पंकज चौधरीले शारिरीक तथा मानसिक यातना तथा घरबाट निकाला गरेको विषयबारे जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा मुद्दा दायर भएको छ ।
मेयर साहले नेहा र निहारिका चौधरीलाई आवश्यक कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष विज्ञप्ती मार्फत नै उजुरी गरिएको बताउनुभयो ।


अजयकुमार साह