राज्यबाट प्रदान गरिने राहात वितरणमा समेत भेदभाव

  ०८१ कात्तिक १२ गते

असोज १० देखि १२ गतेसम्म परेको पानीका कारण बाढी–पहिरोमा परी मृत्यु भएका १८ जनाको परिवारलाई राज्यका तर्फबाट १ लाख रुपियाँको दरमा राहात वितरण गरिएको छ ।

राज्यले प्रत्येक मृतकको परिवारलाई जनही २ लाखको दरमा राहात उपलब्ध गराउने भनेअनुसार १ करोड ५० लाख रुपियाँ खर्च हुनुपर्नेमा बाढी–पहिरोमा परी मृत्यु भएका ७५ जनाको घर परिवारलाई राज्यका तर्फबाट १ करोड २६ लाख रुपियाँ राहात सहयोग उपलब्ध गराइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको अध्यक्षतामा असोज १४ गते बसेको सर्वदलीय बैठकको निर्णय नम्बर ३ मा बागमती प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतक प्रतिव्यक्ति २ लाख रुपियाँ क्षतिपूर्ति स्वरुप तत्काल उपलब्ध गराउने निर्णय भएको थियो । बाढी पहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लाको १० ओटा स्थानीय तहमा ७९ जनाको मृत्यु र ६ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रदेश सरकारको निर्णय विपरित यसरी १ लाख रुपियाँ प्राप्त गर्ने मृतकहरुमा बनेपा नपा–१४ थालचोककी सुनिता तामाङ, पनौती नपा–३ निर्मल सापकोटा, पनौती नपा–११ थुम्कीकी मैया भण्डारी, नमोबुद्धकी ललिसा थापा, कालिका विक, गङ्गाबहादुर धितालको परिवार रहेका छन् ।

यसैगरी मण्डनदेउपुरकी रोशिका तामाङ र रोमन तामाङ, तेमालकी जिरामाया तामाङ, रमा तामाङ, रुद्धकुमारी भण्डारी, बेथानचोकका समिर शङ्कर, पुतलीमाया तामाङ, रोशीकी दिपिका तुम्सिङ मगर, कान्छिमाया तामाङ, डिल्लीबहादुर तामाङ, सफल तामाङ र बुद्धिमाया तामाङका परिवारलाई भने १ लाख रुपियाँको दरमा राहात वितरण गरिएको छ ।

बाढी–पहिरोमा मृत्यु भएकामा एकजना अमेरिकन नागरिक भएको, रामेछाप र झापा जिल्ला घर भएका १/१ जनालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्रदान गरिने जानकारी इन्सेकलाई दिइएको छ । घटनामा मृत्यु भएकी पनौती नपा–१ सिंगेकी ३१ वर्षीया सविता सापकोटाको छोरा नाबालक भएकाले जन्मदर्ता बनाएर बैङ्कमा खाता खोलिएपछि खातामा पैसा जम्मा गरिने भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएकाहरूको परिवारलाई राज्यबाट दिने भनिएको सहयोग दिन बाँकी नरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।

बाढीपहिरोमा परेर पनौती नपाका १८ जना, रोशी गाउँपालिकामा १४ जना, बेथानचोक र तेमाल गाउँपालिकामा १२/१२ जना, मण्डनदेउपुर र नमोबुद्द नपामा ७/७ जना, बनेपा नपा र भुम्लु गाउँपालिकामा ३/३ जना, धुलिखेल नपामा दुई जना र चौरीदेउराली गाउँपालिकामा एक जना गरी १० ओटा पालिकामा ७९ जनाको मृत्यु भएको थियो । पाँचखाल, खानीखोला र महाभारत गाउँपालिकामा भने मृत्यु भएको घटना प्रकाशमा आएन ।

घर तथा पहिरोमा पुरिएका तेमाल गाउँपिलकामा दुइ जना, चौरीदेउराली गाउँपालिकामा एक जना, धुलिखेल नपामा एक जना, बेथानचोक गाउँपालिकामा एक जना र खानीखोला गाउँपालिकामा एक जना गरी दुइ जना बालिकासहित ६ जना महिलाहरूको अवस्था अज्ञात छ । उनीहरुको खोजीकार्य भइरहेको छ । आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछिमात्र उनीहरूको परिवारलाई नगद सहयोग उपलब्ध गराइनेछ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलले पहिरोमा घर पुरिएका १५ जनालाई २ लाख ४० हजार रुपियाँ नगद सहयोग गरेको छ । नमोबुद्ध नपाका पाँच जना, बनेपा नपाका ३ जना, महाभारत गाउँपालिकामा दुई जना, मण्डनदेउपुर नपा, धुलिखेल नपा र भुम्लु गाउँपालिकाका १/१ जना गरी १५ जना घरपरिवारका लागि राज्यका तर्फबाट उक्त नगद सहयोग उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनायो ।

बाढीपहिरोमा घाइते भएका झापा जिल्ला दमक नगरपालिका–४ घर भएका २६ वर्षीय आशिष दाहाल रोशी गाउँपालिका–९ बाट उद्दार गरी अस्पताल भर्ना गरिएकोमा आफूखुशी अस्पतालबाट घर गएकोमा असोज २४ गते बेलुकी घरमा पुग्नासाथ मृत्यु भएको थियो । उनको परिवारले झापा जिल्ला प्रशासन कार्यालयबाटै राहात प्राप्त गर्ने जानकारी प्राप्त भयो । बाढी–पहिरोमा घाइते रोशी गाउँपालिकाका दुई जना पुरुषहरू अझै अस्पतालमा उपचाररत रहेका छन् । बाढीपहिरोमा परी घाइते भएका ८१ जना विभिन्न अस्पतालमा उपचार गरी घर फर्किएका छन् ।

बाढी–पहिरोमा परी ८३ जना घाइते भए भने २१ जना बालबालिकाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दुई महिनाको शिशदेखि ७६ वर्षका ज्येष्ठ नागरिकसम्म रहेका छन् । बाढीपहिरोमा जिल्लाका २६ ओटा विद्यालय पूर्ण क्षति र १ सय ७० ओटा विद्यालयमा आंशिक क्षति भएको छ ।

बाढीपहिरोमा परेका ८ सय ६७ जना व्यक्तिलाई नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको सक्रियतामा हेलिप्याडबाट उद्दार गरिएको थियो । स्थानीय पालिका र सुरक्षाकर्मीको सहयोगमा ३ हजार २ सय ९९ जनालाई अन्य माध्यमबाट उद्दार गरिएको छ । सवारीसाधनबाट ०८१ असोज १४ गते ८ हजार ४ सय ७१ जनालाई उद्दार गरिएको थियो । बाढीपहिरोमा अलपत्र परेका ३ सय ८४ ओटा सवारीसाधन पनि उद्दार गरिएको थियो ।


सुमित्रा आचार्य