राजविराजमा निर्वाचन आचार संहिता उल्लङ्घन

  ०७९ मङसिर १ गते

मौन अवधि सुरु हुने अन्तिम दिन राजविराजमा नेकपा एमाले र जसपा नेपालको संयुक्त र्‍याली तथा सभा र जनमत पार्टीले गरेको मोटरसाइकल र्‍याली र सभामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । ती दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै राजविराजमा अन्तिम चुनावी सभा र र्‍याली गरेका छन् ।

आगामी ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरित र्‍याली र सभामा बालबालिकाको प्रयोग गरेका छन् । जसपा नेपाल र एमालेको संयुक्त र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई प्रयोग गरिएको छ ।

निर्वाचन आचारसंहिता विपरित दर्जनौ टेम्पो, सिटी रिक्सा र सयौँ मोटरसाइकलको र्‍यालीले निर्वाचन क्षेत्र नम्बर २ को परिक्रमा गर्दै सडक अवरुद्ध गरी राजविराजस्थित दशन चौकमा जनमत पार्टीले चुनावी सभा गरेको छ ।

उनीहरुले तीन ओटा सहिदको पुतला बनाएर निकालेको अन्तिम चुनावी र्‍यालीले निर्वाचन क्षेत्र नम्बर २ को परिक्रमा गरेका छन् । जनमत पार्टीको र्‍याली र सभामा तीन जना महिलाले चुनाव चिन्ह अङ्कित सारी लगाएका थिए । स्टिकर, व्याच र गम्छा लगाएका कार्यकर्ता भने जसपा र जनमत दुबै पार्टीको सभा र जुलुसमा देखिएका थिए ।

टेम्पो, मोटरसाइकल र साइकलमा साउण्ड सिस्टम राखेर घन्काउँदै जसपा नेपाल, जनमत पार्टी र हाम्रो नेपाली पार्टीले ओहोर–दोहोर गरेका छन् । उनीहरुले तोकिएको साइज भन्दा ठूलो आकारमा झण्डा र डिजे साउण्ड बजाएर प्रचार गरेका छन् ।

जसपाको चुनावी सभामा सुनसरीदेखि व्यानर र साउण्ड सिस्टम घन्काउँदै प्रदेश सभा सदस्यकी समानुपातिक उम्मेदवार सुनिता मरिक डोमको गाडी आएको थियो । हाम्रो नेपाली पार्टीका प्रदेश सभा सदस्यका उम्मेदवार खेलानन्द दासले मङसिर १ गते बिआर ११ पिए १४८० नम्बरको भारतीय गाडी प्रयोग गर्दै साउण्ड सिस्टमसहित चुनावी प्रचार गरेका छन् ।

मङ्सिर १ गते मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारले अनुमति लिएरै पनि कुनै पनि सवारी साधन समेत चुनावी प्रचारको लागि प्रयोग गर्न पाउने छैनन् । मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको भन्दै जनमत पार्टीले राति आठ बजेपछि पनि डिजे साउण्ड सिस्टममा जिंगल बजाएर प्रचार गरिरहेको छ ।
photo20221117saptari (1)

photo20221117saptari (2)

photo20221117saptari (3)

photo20221117saptari (5)

photo20221117saptari (6)

photo20221117saptari (7)


मनोहरकुमार पोखरेल