राजपा कार्यकर्ताद्वारा मतदान अधिकृतहरूमाथि हातपात

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा निर्वाचन शिक्षा अन्तर्गत तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरूमाथि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले जेठ २९ गते हातपात गर्दै दुर्व्यवहार गरेका छन् ।

मतदान अधिकृतहरूलाई हातपात गरेको आरोपमा प्रहरीले घोषित निर्वाचनविरूद्ध आन्दोलित राजपा निकट युवा सङ्गठनका स्थानीय नेता पन्नालाल पटेललाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको उक्त तालिममा ४ सय जना मतदान अधिकृत सहभागी थिए । तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरू ४० वर्षीय डा. विश्वेश्वरप्रसाद यादव, २८ वर्षीय शङ्कर श्रेष्ठ, ४५ वर्षीया अञ्जु भट्टराई, ४५ वर्षीय वीरेन्द्र महतो कुसवाहा, ४८ वर्षीय रविन्द्रकुमार देव र ५० वर्षीय हरि पराजुलीमाथि पटेल नेतृत्वको समूहले कलैया अस्पताल नजिक दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पटेल नेतृत्वको समूहले बाँसको भाँटाले कुटपिट गर्दा घाइते भएका मतदान अधिकृत डा. यादवको उपचार कलैया अस्पतालमा गरिएको थियो । हातमा चार ओटा टाँका लगाइएको छ ।


लक्ष्मी सोनार