राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७८ चैत २१ गते

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले मुसीकोटमा राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्लास्थित राजनीतिक दलका प्रमुख, राजनीतिक दलका भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुख र ६ ओटै स्थानीय तहबाट विभिन्न राजनीतिक दलमा आस्था राख्ने महिलाहरूको उपस्थितिमा चैत २० गते अन्तरक्रिया गरिएको हो ।

इन्सेक, महिला पुनस्र्थापना केन्द्र (ओरेक) र हरप्लेस रुकुमको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका स्थानीय तहका उप–प्रमुख तथा स्थानीय तहबाट कार्यक्रममा सहभागी भएका महिलाहरूले आफ्नो मातृ पार्टीले आफुहरूलाई राजनीतिक अधिकारबाट वञ्चित गराएको गुनासो गरेका थिए ।

आफुहरूमा नेतृत्व गर्न सक्ने क्षमता हुँदाहुँदै पनि पार्टीले महिलाहरूलाई विश्वास नगरेको, बेवास्ता गरेको र विभिन्न जोखिमपूर्ण काममा मात्रै महिलाहरूलाई अगाडि सारेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

आउने स्थानीय तहको निर्वाचनमा महिलाहरूले स्थानीय तहको मेयर, वडाध्यक्ष लगायतका खुल्ला पदमा पार्टीले आफुहरूलाई सजिलै सहभागी नगराउने हुँदा पार्टीभित्र सङ्घर्ष गरेर भएपनि आफुहरू उम्मेदवार बन्ने जानकारी दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुखले महिलालाई विश्वास नगरेको, जित्न सक्ने स्थानमा महिला उम्मेदवार बनाउँदा पर्टीले जित्न सक्दैन कि भन्ने डरले प्रमुख पदमा महिलालाई सहभागिता गराउन डराएको स्वीकार गरे ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले गाउँस्तरमा महिला अझै पनि पछाडि पारिएको अवस्थामा महिलाहरूको क्षमताको विकास गर्नुपर्ने स्थिति रहेकाले महिलाको क्षमता विकासको लागि काम गरिदिन सङ्घसंस्थालाई आग्रह गर्नु भयो ।

संयोजक रोकाले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ३५ प्रतिशत महिला सहभागिता गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजवादीले पनि स्थानीय तहको निर्वाचनमा महिलाहरूको उल्लेख्य सहभागिता गराउने प्रतिबद्धता जनाएका छन् ।


मनिषा केसी