राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित

  ०८१ भदौ ९ गते

सुनिलस्मृति गाउँपालिका–४, सुलिचौरमा रहेको श्री सूर्याेदय माध्यमिक विद्यालयमा राजनीतिक विवादका कारण शिक्षक नियुक्ति हुन नसक्दा विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ ।

Photo25082024Rolpa1

राजनीतिक विवादका कारण लामो समयसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा नयाँ शिक्षक नियुक्ति हुन नसकेको विद्यालयका प्रधानाध्यपक बेगम कवरले बताउनु भयो । विद्यालयमा माध्यमिक तह गणित विषयको शिक्षक अभाव रहेको प्रधानाध्यपक कवरले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयसम्म पनि विद्यालय व्यवस्थापन समिति नबन्दा नयाँ शिक्षक नियुक्ति लगायत अन्य प्रशासनिक काममा समेत प्रभाव परेको छ । गत २०८१ वैशाख महिनामा निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमचन्द्र पुनमगरको पदावधि सकिएपछि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसकेको प्रधानाध्यपक कवरको भनाइ छ ।

विद्यालयमा विषय शिक्षक नहुँदा विद्यार्थीहरू शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । विभिन्न राजनीतिक विवादका कारण लामो समयसम्म विद्यालयमा व्यवस्थापान समिति गठन नहुनु र नयाँ शिक्षक नियुक्ति नहुनुले बालकालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएको स्थानीयहरूको भनाइ छ । नयाँ शिक्षक नियुक्ति गर्न विद्यालय व्यवस्थापन समिति चाहिन्छ तर पटकपटक अभिभावक भेला बस्दा समेत राजनीतिक दलहरूबीचमा सहमति नबन्दा विद्यालय व्यवस्थापन समिति बन्न नसकेको हो ।

विद्यायल व्यवस्थापन समिति निर्माणको निम्ति भनेर गत जेठ महिनादेखि हालसम्म नेपका माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा विप्लप, राप्रपा एवम् जनमोर्चा निकट राजनीतिक दल सम्मिलित अभिभावक भेला पाँचौँ पटकसम्म बैठक बसिसकेको छ । तर हालसम्म राजनीतिक सहमति नभएको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमचन्द्र पुन मगरेले इन्सेकलाई जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि माध्यमिक तह गणित विषयको शिक्षक नहुँदा गणित विषयको पठनपाठन ठप्प छ । जसका कारण विद्यार्थीहरूले विद्यालय छोडेर अन्य विद्यालयमा पढ्न गएको समेत उहाँले बताउनु भयो ।

विद्यालयमा कक्षा नौ मा अध्यनरत प्रतिक्षा विष्ट र रोजि घर्तीमगरले विद्यालय छाडेर सुनिलस्मृति गाउँपालिका–२ मा रहेको ग्यानोदय मन्दिर बोर्डिङ स्कुलमा पढ्न गएका छन् । करिब तीन/चार महिनासम्म पनि विद्यालयमा विषय शिक्षक नहुँदा आफूहरूको शिक्षण सिकाइ प्रभावित भएको भन्दै उक्त विद्यालयमा पढ्न गएको उनीहरूको भनाइ छ ।

यस विषयमा स्थानीय सरकार बेखबर रहेको बताउँदै राजनीतिक विवादका कारण विद्यालय जस्तो पवित्र क्षेत्रलाई राजनीतिक दलहरूले बन्दी बनाएको स्थानीय ताराचन्द्र घर्तीले बताउनु भयो । विद्यालयमा ०८० फागुन समान्तदेखि माध्यमिक तहको गणित विषय क्षिक्षक रिक्त छ । विषयगत हिसाबले जटिल मानिने गणित विषयकै लामो समयसम्म शिक्षक नहुँदा आउने शैक्षिक सत्रमा यसले गम्भीर असर गर्न सक्ने स्थानीय दिपेश पराही विष्टले बताउनु भयो ।

यस विषयमा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकिले विद्यालय व्यवस्थापन समिति बनाउने स्थानीय तहले नभइ अभिभावहरूले भएको बताउनु भयो । उक्त विषय स्थानीय तहको क्षेत्राधिकारभित्र नपर्ने बताउनु भयो । उक्त समस्याको समाधानका लागि स्थानीय तहले प्रतिनिधि खटाए पनि उनीहरूले सहमति नजुटाएको उहाँको भनाइ छ । बालकालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित भएका कारण यस विषयलाई प्रक्रियागत ढङ्गबाट टुङ्ग्याउनुपर्ने उहाँले बताउनु भयो ।

Photo25082024Rolpa


तिलक घर्तिमगर