राजनीतिक दलहरू आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसारमा

  ०७४ कात्तिक २१ गते

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सङ्खुवासभाका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् ।

Photo20171108Sankhusabha

राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै सार्वजनिक स्थलहरूमा झुण्ड्याएका छन् ।

सङ्खुवासभाको लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार नेपाली काङ्ग्रेसका दिपक खड्का, प्रदेशसभा सदस्य (क) का उम्मेदवार टङ्क राई, नेकपा एमालेका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम, प्रदेशसभा (क) का उम्मेदवार पुर्णप्रसाद राईको तस्विर र चुनाव चिन्ह अङ्कित रङ्गीविरङ्गी फ्लेक्स व्यानर कात्तिक १९ गते खाँदबारी नगरपालिका, चैनपुर नगरपालिकालगायत जिल्लाका विभिन्न बजारमा तथा बजारका चोकको चारैतिर झुण्ड्याइएको देख्न सकिन्छ ।

निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ 'झ' मा निर्वाचनसम्बन्धी प्रचारप्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायतको कुनैपनि सार्वजनिक स्थलमा पर्चा टाँस्न वा टाँस्न लगाउन, लेख्न वा लेख्न लगाउन नहुने उल्लेख छ ।

त्यस्तै निर्वाचन आचारसंहिता २०७२ को ८ मा नेपाल सरकार, सार्वजनिक संस्था वा स्थानीय तहको भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने उल्लेख छ ।

यस विषयमा सञ्चारकर्मीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराएकोमा आचारसंहिताको उल्लङ्घन नहोस भनेर आफूहरू सचेत रहेको र निगरानी गरिरहेको भन्दै मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले आचारसंहिता उल्लङ्घन भएमा आयोगमा प्रतिवेदन पठाई आवश्यक दण्डात्मक निर्णय गरिने बताए ।


बाबुराम बास्तोला