राजनीतिक दलहरूद्वारा बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता

वालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने विषयमा कञ्चनपुरका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति, कञ्चनपुरले जेठ २५ गते जिल्लाको सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको बालअधिकार र आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् ।

जिल्लामा बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्ने, राजनीतिक गतिविधिहरू विद्यालयमा नगर्ने, बालबालिकालई जोखिम पर्नसक्ने किसमका कुनै कार्य नगर्नेलगायतका सात बुँदामा प्रतिबद्धता जनाएका छन् । नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा माले, जनमोर्चालगायतका राजनीतिक दलका प्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका थिए । बाल अधिकार अनुगमन गर्नका लागि महिला तथा बालबालिका कार्यालयकी प्रमुख कुन्ती लेखकको संयोजकत्वमा सात सदस्यीय बाल अधिकार अनुगमन समिति गठन गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाट अनुगमन समितिको सदस्यमा चयन भएका छन् ।


अनलाइन डेस्क