राजनीतिक दलहरूद्वारा आचार संहिता उल्लङ्घन

  ०७९ वैशाख २१ गते

स्थानीय तह निर्वाचन नौ दिनमात्र बाँकी रहेको छ । राजनीतिक दलहरूले प्रचार प्रसार र घर दैलो अभियान सञ्चालन गरेका छन् ।

इन्सेक प्रतिनिधिहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गरेको अनुगमनका क्रममा राजनीतिह दलहरूले प्रचार प्रसारमा आचार संहिता उल्लङ्घन गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता ०७८ को दफा १२ को ९ ङ मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र उक्त नापको चुनाव चिन्ह बाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने, तोकिएका भन्दा ठूलो साइजका झण्डा, चुनावी प्रचार प्रसारका क्रममा दुई ओटा सवारी साधनको प्रयोग, दलका चुनाव चिन्हृ अङ्कित भेष्ट, गम्छालगायतका सामाग्री उत्पादन, वितरण तथा प्रचार प्रसार आचारसंहिता विपरित भने पनि लुम्बिनी प्रदेशमा  राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ

यसैगरी दफा ४ को छ मा १८ वर्ष मूनिका बालबालिकालाई प्रयोगमा बन्देज लगाएको भएपनि बालबालिकाहरू झण्डा बोकेर हिडेको अनुगमनका क्रममा पाइएको छ । निजी तथा सार्बजनिक स्थलमा  अनुमति नलिई पोष्टर पम्पलेटहरू टासिएको पाइएको छ ।

बाँके जिल्ला नेपालगञ्ज उपमनापा–१८ मा नेकपा एमालेले निर्वाचन आचार संहिता विपरित र्यालीमा बालबालिकाहरूको प्रयोग गरेको छ । यसैगरी विभिन्न राजनीतिक दलहरूले चर्को स्वरमा स्पीकर बजाउनुको साथै निजी तथा सार्बजनिक स्थानमा झण्डा र चुनाव चिन्ह अंकित झण्डा राखेको पाइएको छ । राप्ती सोनारी गाउँपालिका–४ का नेपाली कांग्रेसबाट  वडा अध्यक्ष पदका उम्मेदवार कान्छा थारुलाई सोही ठाँउका नेकपा माओवादी केन्द्रका मिनबहादुर खड्का (सन्तोष) सहित २५ वटा मोटरसाइकलमा वैशाख २० गते  राती १२ बजे घरमा आएर धम्की दिएको भन्दै वैशाख २१ गते इलाका प्रहरी कार्यालय धामपुरमा उजुरी दिएका छन् ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार गुल्मीमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मुसिकोट नगरपालिका–२ को आम सभामा हेलिकप्टर मार्फत गठबन्धनको चुनावी भेलामा सहभागी भएर भोट माग्ने र प्रचार गर्नु भएको छ । जिल्लामा विभिन्न राजनीतिकदलहरू ठुलो झण्डाको प्रयोग गर्ने, घरघरमा झण्डा राख्ने, चर्को आवाजमा यातयातमा प्रचार सामग्री राखेर प्रचार गर्नेक्रम मुख्य निर्वाचन अधिकृतको कार्यालयकै नजिक भएको पाइएको छ । बिहानदेखि राती अबेरसम्म जिप, कारमा तथा अटोमा गीत बजाउँदै डिड्ने गरेको पाइएको छ । जसका कारण स्थानीयवासीहरू ध्वनी प्रदुषणको प्रभावमा परेको छ । १५ ओटा मतदान स्थल अति संवेदनशील छन् । सम्वेदनशील मतदान स्थलमा कालीगण्डकी गाँउपालिका, मालिका, मदाने, सत्यवती र चन्द्रकोट गाउँपालिकामा पर्दछन् । ४१ वटा मतदान स्थलहरु संवेदनशील र ८६ वटा मतदान स्थलहरू सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनु भयो । संवेदनशील स्थलमा सुरक्षा  र अन्य व्यवस्थापन राम्रोसँग गरिएको पौडेलले बताउनु भयो । जिल्लामा भौगोलिक अवस्था, यातायातको पहुँच र सीमाका आधारमा मतदान स्थलको वर्गिकरण छ । जिल्लामा  महिला १ लाख १४ हजार २ सय ५१ र पुरुष १ लाख १० हजार ५९ गरी २ लाख २४ हजार २ सय ७६ मतदाता रहेका छन्  भने दुई जना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार निर्वाचन प्रचार प्रसारमा राजनीतिक दल  कार्यकर्ताहरूले घरदैलो अभियान सञ्चालन गरेका छन् ।  निर्वाचन आचार संहिता विपरित साउण्ड बक्स बजाउँदै प्रचार प्रसार गर्ने,  र्यालीमा बालबालिकाहरू हिड्ने गरेको पाइएको छ । पार्टीका जिम्मेबार पदमा बसेर काम गर्ने स्थायी शिक्षकहरु सनिबार तथा बिदाको दिनमा आफ्नो पार्टीका नेता उम्मेदबारको चुनाबी प्रचारमा हिडेको देखिन्छ । अभिभाबक र शिक्षकहरु चुनाबी प्रचारमा हिडेको देखे पछि बालबालिकाहरु रमाईलोको लागि अंगाडि पछाडि गरेको पाईयो ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार राजनीतिक दलहरूले तोकिएको भन्दा बढी गाडी प्रयोग गरेको, झण्डा, व्यानर साइज भन्दा ठुला बनाएको, श्रव्य सामाग्रीको प्रयोग गरेको, अभिभावकसँगै बालबालिका पनि रमाइलो गर्दै हिडेको पाइएको छ ।  उनका अनुसार विगतका निर्वाचन हनुे भोज भतेरहरू यस पटक गरेको पाइदैन । जिल्ला सुरक्षा समितिले १ सय ५३ मतदान स्थललाई सुरक्षा संवेदनशीलताको आधारमा ११वटा मतदान स्थल अति संवेदनशील, एक सय ३१ संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्य रूपमा वर्गिकरण गरेको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार आसन्न स्थानिय निर्वाचनको आचार संहिता उल्लघंन गरिएको पाइएको छ । जिल्लाको १० वटा स्थानिय तहमा  नेकपा एमाले , नेपाली कांग्रेस , लोसपा लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरूले डिजे साउण्डमा आफ्ना पार्टीका गितहरू ठूलो स्वरमा लगाउने, निर्वाचन आयोगले तोकेको भन्दा ठुला ब्यानर , झण्डा , पर्चाहरू गाडीमा , मोटरसाईकलमा लगाएको र डण्डामा झण्डा फराउँदै प्रचार प्रसार गर्दै हिडेको पाइएको छ । जिल्लामा निर्वाचन आचार संहिता विपरितका गतिविधिहरु भइरहेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दएको छ । निर्वाचनको तयारीका लागि हिडेको अनुमगन टोलीले वैशाख १९ गते क्षेत्र नम्बर ३ मा अनुमगनका क्रममा आचार संहिता विपरीत राखिएका झण्डा, ब्यानर फ्ल्याक्सहरू हटाएको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो । जिल्लाको दक्षिणी क्षेत्रमा भन्दा उत्तरी क्षेत्रमा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरू बढी भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा प्रचार प्रसार गर्दै हिडिका पार्टीका नेता तथा कार्यकर्ताहरूको सवारी साधनहरूमा निर्वाचन आचार संहिता विपरित लगाएका ब्यानर र झण्डाहरू मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटा ,प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रा , एसपी दानबहादुर कार्कीको अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । प्रमुख निर्वाचन अधिकृत सापकोटाले निर्वाचनलाई स्वच्छ, मर्यादीत र भयरहीत बनाउन आफूहरूले तयारी गरेको बताउँदै निर्वाचन आचार संहिता पालना गर्न दल तथा सबै उम्मेदवारहरूलाई आग्रह गर्नु भएको छ ।

बर्दिया प्रतिनिधि मनबहादुर चौधरीका अनुसारेपाली काङ्ग्रेस पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायतका दलहहरूले आचार संहिता विपरित बालबालिकाहरूको प्रयोग गरेको, गम्छा र टी सर्टहरू लगाएको, साइज भन्दा ठुला झण्डाहरूको प्रयोग गरेको पाइएको छ । यसैगरी, ठूलो स्वरमा स्पीकरहरू बजाउने, निजी तथा सार्बजनिक स्थानमा पोष्टर पम्पलेट टास्ने गरेको पाइएको छ ।

photo2022050402npjphoto2022050401npj


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज