राजनीतिक दललाई सार्वजनिक स्थलमा चियापान एवम् भोजभतेर गर्न रोक

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी बनाउनका लागि राजनीतिक दल तथा दलसँग सम्बन्धित सङ्घ संस्थाहरूलाई र्सार्वजनिक रूपमा चाडपर्वको नाममा चियापान समारोह तथा भोजभतेरको आयोजनामा रोक लगाएको छ ।

असोज ४ गते बसेको आयोगको बैठकले विजया दशमी, दीपावली तथा छठजस्ता हिन्दुहरूका महान् चाडहरू निकट आइरहेको सन्दर्भमा राजनीतिक दलहरू तथा दलसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरूले सार्वजनिक रूपमा सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउन सक्ने भएकाले त्यस प्रकारका चियापान समारोह तथा  भोजभतेर आयोजनामा रोक लगाउने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

सरकारले मङ्सिर १० र २१ गते गरी दुई चरणमा प्रनिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगले भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागु भइसकेको जानकारी गराउँदै चाडपर्वको नाममा सार्वजनिक स्थलमा भोजभतेर एवम् चियापान नगर्न राजनीतिक दलहरूसँग आग्रह गरेको हो ।

विगत वर्षरूमा विजया दशमी, दिपावली तथा छठ जस्ता हिन्दुहरूका महान चाडहरूका उपलक्ष्यमा राजनीतिक दल तथा राजनीतिक दल सम्बन्धित विभिन्न सङ्घ तथा संस्थाहरूले सार्वजनिक रूपमा सार्वजनिक स्थलमा चियापान समारोह तथा भोजभतेर गर्ने गरेका थिए ।

तर, निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने हुँदा सार्वजनिक रूपमा सार्वजनिक स्थानमा यस प्रकारका चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न पनि आयोगले आग्रह गरेको हो ।


सुभाष साह