राजनीतिक दलको घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी

  ०७९ कात्तिक १६ गते

जिल्लाका प्रमुख राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको निरन्तर उल्लङ्घन गरेका छन्।

प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले चुनाव प्रचारमा घरदैलो गर्दा निर्वाचन आचारसंहिताको अवज्ञा गरेका हुन् ।

निर्वाचन आचारसंहितामा घरदैलो कार्यक्रम जाँदा राजनीतिक दलका उम्मेदवारले २५ जना बढीको टोली लैजान नपाइने व्यवस्था गरेको छ । तर उम्मेदवारहरू एक सय बढीको टोली लिएर घरदैलो गरिरहेका छन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने व्यवस्था छ ।

उम्मेदवारहरूले दलबलका साथ घरदैलो गरिरहेका छन् । त्यसको सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार समेत गरिरहेको छन् । तर जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कुनै कारबाहीको प्रक्रिया अघि बढाएको छैन । कार्यालयमा यस विषयमा उजुरी समेत परेको छैन ।


नवराज पथिक