राउटे समुदायको सुरक्षा अवस्थाका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल

  ०७८ असोज १८ गते

राउटे समुदायको सुरक्षा अवस्थाका सम्बन्धमा अधिकारकर्मीको एक टोलीले नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख गणेशबहादुर ऐरसँग असोज १८ गते छलफल गरेको छ ।

पछिल्लो समयमा राउटे बस्तीमा विभिन्न आपराधिक घटना भएको विषयलाई मध्यनजर गर्दै नजिकै आइरहेको चाडपर्वमा कुनै अप्रिय घटना हुन नदिन ऐरसँग छलफल गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिनु भयो ।

छलफलका क्रममा नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख ऐरले तत्काल सुर्खेत र सल्यानका प्रहरी प्रमुखसँग फोन सम्पर्क गरी राउटे वस्तीको सुरक्षा अवस्था बलियो बनाउन निर्देशन दिनु भएको छ ।

“यस विषयमा तपाईहरूले हामीलाई झक्झक्याइ दिनु भएको छ । हामी सचेत छौँ । तरपनि थप सचेत भई सुरक्षा अवस्था बलियो बनाउछौँ ।” उहाँले भन्नु भयो ।

अघिल्लो हप्ता सुर्खेतको वीरेन्द्रनगर नपास्थित पाथीभारा मन्दिरकी पुजारी माताले टिकटक बनाई यूटुवमा राख्ने भनी दुई जना युवतीलाई वीरेन्द्रनगर ल्याएको घटना र गत जेठ महिनामा दुई जना युवतीलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गरेको घटनाका विषयमा प्रहरीसँग छलफल गरिएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको संयोजनमा भएको छलफल कार्यक्रममा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पिताम्बर ढकाल, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा, राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका जिल्ला उपाध्यक्ष बसन्त अधिकारी, आवाजका निशा पौडेल, इन्सेकका कार्यक्रम फोकल पर्सन दुर्गा थापा लगायतको उपस्थिति रहेको थियो ।

केही समय अघि सल्यानका प्रमुख जिल्ला अधिकारीले राउटे वस्तीमा प्रहरी पोष्ट खडा गरेको भएपनि हाल राउटे समुदायमा प्रहरी पोष्ट नियमित नभएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका जिल्ला उपाध्यक्ष बसन्त अधिकारीले जानकारी दिनु भयो ।
राउटेहरू हाल सल्यानको वनगाड कुपिण्डे नपा–१ को घाटगाउँमा बस्दै आएका छन् । उक्त वस्तीमा १ सय ४१ जना राउटे रहेका छन् ।Photo 2021-10-04 Surkhet (1)


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत