राउटेले तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएनन्

  ०७९ साउन २ गते

हरेक दुई/तीन महिनामा बस्ती सर्ने राउटे समुदाय जाजरकोटको छेडागाड नगरपालिका–२ सुयडापछि एक हप्ताअघि मात्र दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरचौर पुगेका छन् । ४६ परिवारका १ सय ४४ जनाले वैशाख, जेठ र असार महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले गुनासो गर्नुभयो ।

महिनैपिच्छे दिइनुपर्ने सामाजिक सुरक्षा भत्ता तीन महिना नाघिसक्दा पनि नपाएको उहाँले बताउनु भयो । ‘कर्मचारीले तलव पाइहाल्ने, सामाजिक सुरक्षा भत्ता पाउने अरु सबैलाई दिइहाल्ने राउटेले मात्र पाएनन्’ महामुखिया शाहीले गुनासो सुनाउनुभयो ।

असारको महिनाभर योजनाको भुक्तानीमा सबै व्यस्त भएको र असारको पछिल्लो हप्ता करार कर्मचारीको आन्दोलनका कारण भत्ता वितरणमा ढिलाई भएको गुराँस गाउँपालिका वडा नम्बर ८ का सचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट जिल्लाका आसपासमा हरेक दुई–तीन महिनामा बस्ती सर्दै गर्ने राउटे समुदायको धेरै समय दैलेखमा बस्ने गरेकोले सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।

राउटेहरू जहाँ पुग्छन् त्यही गएर भत्ता वितरण गर्न सरकारले गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयलाई जिम्मेवारी दिएकोमा पछिल्लो समय सामाजिक सु्रक्षा भत्ता वितरणमा ढिलाई हुने गरेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हिरासिंह थापाले प्रतिक्रिया दिनुभयो ।
विसं. २०५८ मा १ सय ८० जना, विसं. २०६८ को जनगणनामा १ सय ६६ जना रहेका राउटेको सङ्ख्या कम भइरहेको तथ्याङ्कले देखाउँछ । गुराँस गाउँपालिकाले विसं. २०७४ मा सङ्कलन गरेको तथ्याङ्कअनुसार १ सय ४९ जना रहेकामा अहिले १ सय ४४ जनामा झरेको छ ।

लोपोन्मुख सूचीमा रहेका विभिन्न दश जातिलाई सरकारले आर्थिक वर्ष २०६५/०६६ देखि सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गर्दै आएको छ । राउटे लगायत कुसुण्डा, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा र कुसवडिया जातिलाई सामाजिक सु्रक्षा भत्ता दिन थालिएको हो ।
PhotoDailekh20220718 (7) PhotoDailekh20220718 (8)PhotoDailekh20220718 (5)


अमर सुनार