रसुवा कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी

रसुवा कारागारका क्षमताभन्दा बढि कैदी बन्दी रहेकोले बन्दीहरूमा स्वास्थ्य, सरसफाइ लगायतमा समस्या हुने गरेको छ ।

क्षमताभन्दा बढी बस्नु परेको कारण पानी अभाव हुने भएकोले शौचालय जान, नुहाउन, कपडा धुन जस्ता काममा पनि समस्या परेको  कागरागारका बन्दी सान्तेम्पा तामाङले बताउनु भयो ।

२५ जनाको क्षमता भएको ‘ङ’ श्रेणीको जिल्ला कारागारमा कारागारमा कैदी, बन्दी र थुनुवा (कैद नतोकेका ७ र कैद तोकेका ६९ जना ) ७६ जना छन् । जसमा महिला ८ र पुरुष ६८ जना रहेका छन् ।

कैदी बन्दीहरूको नियमित स्वास्थ्य जाँचका लागि एक जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हालसम्म खाली रहेको छ ।

कारागारको आफ्नै दरबन्दीको स्वास्थ्यकर्मी नभएकोले कारागारका कैदीबन्दीलाई जिल्ला अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ ।

स्वास्थ्यकर्मी नभएका कारणले समान्य स्वास्थ्य परीक्षण र औषधिका लागि समेत जिल्ला अस्पताल पुग्नु पर्ने अवस्था रहेको कागरागारका बन्दी तामाङको गुनासो छ । अहिले धेरै बन्दी चिसोका कारण एलर्जी खोकी तथा ज्वरोका बिरामी बढेका छन् ।

कारागारमा दुई जना बन्दी जटिल मानसिक रोगी रहेका छन् । मानसिक समस्या भएका दुई महिला सहित चार जना नियमित औषधि सेवन गर्नेहरू छन् ।

६५ वर्ष नाघेका एक जना ज्येष्ठ नागरिक (पुरुष) रहेको जिल्ला कारागार प्रमुख हरिाम न्यौपाने बताउनुभयो । उहाँका अनुसार अहिले बन्दीहरूमा चिसोका कारण पेट दुख्ने र आउँ  पर्ने जस्ता स्वास्थ्य समस्या देखिने गरेको छ ।

क्षमताभन्दा बढि कैदीबन्दी भएकाले कोचिएर बस्नुपर्ने बाध्यता छ । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा बन्दीहरूको नियमित रूपमा स्वास्थ्य परीक्षण गर्ने र समस्या परेको प्रमुख न्यौपानेले बताउनु भयो।

स्वास्थ्यकर्मी नहुँदामा पनि जिल्ला अस्पतालमार्फत समय समयमा स्वास्थ्य परीक्षण गरी मानसिक तथा विभिन्न समस्याको औषधि उपचार तथा रेखदेख गर्ने गरेको उहाँले बताउनु भयो ।

बिरामी परेको समयमा स्वास्थ्य परीक्षण गर्ने र जिल्लामा उपचार नभएमा विभागीय स्वीकृति लिएर थप उपचारका लागि अन्यत्र पठाउने व्यवस्था गरिएको छ ।

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा रसुवा कारागारमा रहेकाहरू मध्ये नागरिकता तथा मतदाता परिचय पत्र भएका १४ जनाले मतदान गरेका थिए ।


हेमनाथ खतिवडा