रसुवामा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा

रसुवाको विभिन्न गाउँमा वर्षातका कारण ज्येष्ठ नागरिक बढी जोखिममा परेका छन् । गाउँमा घरमाथिबाट आएको पहिरोको कारण कालिका गाउँपालिका-२ का ज्येष्ठ नागरिक ८९ वर्षीय दिपबहादुर थापामगरको घर भत्केपछि उक्त दम्पती छिमेकीको घरमा शरण लिन पुगेका छन् ।

वर्षातले आफू र पत्नी मात्र बस्दै आएको घरमा माथिबाट पहिरो आएपछि भागेर बाँचेको थापाले बताउनु भयो । राहतको लागि कालिका गाउँपालिकाको कार्यालय पुग्दा पातलो प्लाष्टिक मात्र पाएको थापाले गुनासो गर्नुभयो ।

Photo_080-5-12_Rasuwa

त्यसैगरी कालिका गाउँपालिका-३, तारुकेकी ज्येष्ठ नागरिक ७९ वर्षीया जानुका ढकालको घरमाथिबाट आएको पहिरोले जोखिममा परेको छ । वर्षातको पानीले घरमाथिबाट डाँडा भत्केपछि घर जोखिममा परेको र रोकथामका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि कुनै वास्ता नभएको ढकालले बताउनु भयो ।

त्यस्तै गरी कालिका गाउँपालिका-३, धारापानीका ज्येष्ठ नागरिक ७८ वर्षीया हिरादेवी ढकाल, ८३ वर्षीय इन्द्रप्रसाद रिजालको घर पहिरोले जोखिममा रहेकोले बस्ती स्थानान्तरण गर्नुपर्ने कालिका गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्यौपानेले बताउनु भयो । त्यहाँ पहिरोले पाँच घरमा पहिरोले क्षति पुर्‍याएको बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको अध्यक्ष तामाङले बताउनु भयो । पहिरोले घरमाथि जमिन भासिएको छ । कुन बेला पहिरो खस्छ भनेर रातभर जागै बस्ने गरेका छन् । बस्ती स्थानान्तरणका लागि स्थानीय तहको निर्णय र सिफारिस साथ जिल्ला विपद् व्यवस्थापन समितिमा अनुरोध गरेपनि सुनुवाइ नभएको स्थानीय कृष्ण ढकालले जानकारी दिनुभयो ।

Photo_080-5-12_Rasuwa1

निरन्तर परेको वर्षाले नौकुण्ड गाउँपालिका-१, यार्साकी ज्येष्ठ नागरिक ७९ वर्षीया बिममाया तामाङको घर भत्केको छ भने पिँढी चर्केको छ । घरमा बस्न नहुने भएपछि नजिकैको आफन्तको घरमा बस्न थालेको ताकाङले बताउनु भयो ।

त्यसैगरी नौकुण्ड गाउँपालिका जोड्ने सिम्ले-भोर्ले-पार्च्याङ सडक चार दिनदेखि अवरुद्ध हुँदा नियमित बस तथा मालबाहक गाडी मात्र होइन बिरामीका लागि आपतकालीन उपचारका लागि अस्पताल लैजाने एम्बुलेन्स आवत जावतमा समेत समस्या भएको छ । निरन्तर वर्षात भइरहेको र वर्षात कम भएपछि मात्र बाटो खुलाउने नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङले जानकारी दिनुभयो ।

Photo_080-5-12_Rasuwa2

वर्षातले नौकुण्ड गाउँपालिका-६ को गाउँमाथिबाट डाँडा भासिएको पहिरोले गरिगाङ, गाङम्राङ, सिमटोल, कुनाटोलका २६ घर जोखिममा परेको स्थानीय रमेश तामाङले इन्सेकलाई जानकारी दिनुभयो । नौकुण्ड गाउँपालिका-२, युब्रामा रहेको १ सय ४० घरपरिवार पहिरोको जोखिममा रहेको छ । वर्षात लागेपछि पहिरो कतिबेला गाउँ बगाउँछ भन्ने त्रासमा रातभर जाग्राम बाँच्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

युब्रा गाउँका हर्कबहादुर तामाङले भन्नुभयो, 'वर्षात लागेपनि रातभर निन्द्रा लाग्दैन गाउँ वरिपरि पहिरोले घेरेको छ । रातभर पानी पर्न थालेकोले आज भोली निन्द्रा लाग्दैन । गत वर्ष पनि त्रासमा बित्यो यसवर्ष पनि वर्षात लागेपछि रातभर डर त्रासमा बस्नुपर्छ । हाम्रो समस्याको समाधान कसैले गर्ने प्रयास गरेनन् ।'

त्यहाँको विद्यार्थी पढ्ने एकमात्र भूमेदेवी आधारभूत विद्यालयसमेत जोखिममा रहेको स्थानीय गणेशमान लामा बताउनु भयो । ०७२ को भूकम्पको समयमा पहिरो जान सुरु भएको हो । गाउँमा सडक खनियो तर नाली बन्न नसक्दा वर्षातको भेल एकत्रित भएर गाउँ बगाउने त्रासमा बाँच्नु परेको लामाले बताउनु भयो ।

पहिरो गएर बस्ती जोखिममा परेपनि उनिहरू गाउँ छाड्न तयार छैनन् । गत वर्षको वर्षा युब्राबासीले त्रासमा नै बिताए । तर यो वर्ष गाउँमाथिबाट नै पहिरो खसेपछि युब्राका १ सय ४० घरपरिवार सुरक्षित स्थानको खोजीमा लागेका छन् । यहाँका दुई परिवार अपाङ्गता भएका, तीन परिवार ज्येष्ठ नागरिक र चार परिवार एकल महिला रहेका छन् ।

गाउँभन्दा तलबाट ठूलो पहिरो आएपछि गाउँ छाड्नुको बिकल्प नभएको युब्राका स्थानीय गणेश लामाले गाउँमा निर्माण भएको नयाँ सडकमा समयमा नै नाला निर्माण गर्न नसक्दा समस्या आएको उल्लेख गर्नुभयो ।

आमाछोदिङमो गाउँपालिका-१ को हाकुबेशीबाट पाङलिङहुँदै सानोहाकु जाने सडक अवरुद्ध हुँदा खाद्यन्न तथा निर्माण सामग्री गाउँसम्म पुर्‍याउन कठिन भएको छ । यस वर्ष वर्षात बढी भएकोले ठूलो समस्या परेको छ । नियमित बस मात्र नभइ बिरामीलाइ अस्पताल लैजान एम्बुलेन्स समेत पुग्न कठिन भएको स्थानीय सोम तामाङले बताउनु भयो । उत्तरगया गाउँपालिकाको करुमर्‍याङ, तिरु, गोगने, मैलुङलगायतका गाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ३७ मा नागरिकको आवासको हकसम्बन्धी कुरा उल्लेख छ । यहाँका ज्येष्ठ नागरिकको हक धारा ४१ र सामाजिक सुरक्षाको हक धारा ४३ मा समेत उल्लेख गरिएको छ । आवासको अधिकारसम्बन्धी ऐन २०७५ को धारा ४ को १ मा नागरिकको आवासको अधिकारको सम्मान गर्नुपर्ने, नागरिकलाई आफ्नो आवासको शान्तिपूर्ण, निर्वाध रुपले उपभोग गर्न दिनुपर्ने र २ मा कुनैपनि नागरिकलाई कुनै पनि अवस्थामा आवासको अधिकारबाट वञ्चित गर्न नहुने उल्लेख छ ।

Photo_080-5-12_Rasuwa3


हेमनाथ खतिवडा