रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा

रसुवाको पाँच ओटै गाउँपालिकामा पशुमा लाग्ने लम्पी स्किन रोगको औषधि अभाव हुँदा किसान मर्कामा परेका छन् । लम्पी स्किन रोगका कारण हालसम्म दुई सयभन्दा बढी पशु मरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा मात्र लम्पी स्किनबाट हालसम्म २६ ओटा चौँरी, एक ओटा याक र ४८ ओटा स्थानीय जातका गाईगोरु मरेको पशु सेवा प्राविधिक प्रमुख सुरेश बडालले जानकारी दिनुभयो । उहाँका अनुसार ९ सय भन्दा बढी पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।

समयमा औषधि उपचार नभएको कारण पशुवस्तु मरेको र बिमा दावी पनि नहुने कुराले त्रसिता भएको गोसाइकुण्ड गाउँपालिका-६ का किसान फुर्पा तामाङले उल्लेख गर्नुभयो ।

लम्पी स्किन लागेकोले दुध उत्पादन घटेको चिज उत्पादन केन्द्रका प्रमुख छत्रबहादुर लामाले बताउनु भयो । उहाँले भन्नुभयो, 'आमाछोदिङमो गाउँपालिकामा पनि रोग फैलिएको छ । सोमदाङ र गत्लाङमा पनि धेरै सङ्क्रमण फैलिएर गाईगोरु मरेको छ ।'

गाउँमा लम्पी स्किन रोगको कारणले गाईगोरु बिरामी हुँदा स्थानीय किसानले रोपाइँ गर्न नसकेको आमाछादिङमो गाउँपालिका-३ का किसान कार्साङ तामाङले बताउनु भयो ।

गोल्जुङबेडशी र गत्डलाङको बेसी लगाएत अधिकांश जमिनमा अहिलेसम्म रोपाइँ हुन सकेको छैन । त्यहाँ ट्याक्टरको चलन पनि छैन । हिमाल र पहाडी भिरालो जमिनमा गोरु नै लगाउनु पर्ने खेतहरूमा धान रोपाइँ हुन नसकेको तामाङले जानकारी दिनुभयो ।

अधिकांश जमिनहरू भिरालो र अग्ला कान्ला भएका खेत बारीमा धान, कोदो, सिमी लगाउने समय भए पनि जोत्नका लागि गोरुकै प्रयोग गरिन्छ । लम्पी स्किन रोगको महामारी भएका कारण यस वर्ष गोरु प्रयोग गरेरे जोत्न नपाएको कारण धेरै जग्गा बाँझो नै छ ।

पशुहरूमा लागेको लम्पी स्किन रोगका कारण गोरुहरूबाट यस वर्ष रोपाइँ नभएको कारण किसानहरूको धेरै जग्गा बाँझो भएको उत्तरगया गाउँपालिका-१ का किसान सेदार तामाङले बताउनु भयो ।

पशुमा आएको रोगको महामारीले किसानले गोरु प्रयोग गर्न नपाउँदा यस वर्षको धान रोपाइँ कम भएको नौकुण्ड गाउँपालिका-२ का किसान श्याम तामाङले उल्लेख गर्नुभयो । गाईगोरुमा लागेको लम्पी स्किन रोगको उपचार समयमै नभएको अवस्थामा गाउँमा भोकमरी लाग्न सक्ने उहाँले भन्नुभयो ।

कालिका गाउँपालिकामा चार ओटा चौँरी, १० ओटा गाईगोरु मरेका छन् भने २ सय जति पशुहरू सङ्क्रमित भएका छन् । लम्पी स्किन रोग फैलिएकोले खास उपचार नहुने, लक्षण अनुसारको रोकथामका लागि औषधि उपचार गर्नु पर्ने तर गाउँपालिकामा बजेट नभएकोले औषधि अभाव भएको कालिका गाउँपालिकाको पशु शाखा प्रमुख बुद्धिनाथ न्यौपानेले जानकारी दिनुभयो । 'रोग नलागेको स्थानमा पशुहरूलाई खोप लगाउनुपर्छ तर खोप धेरै महङ्गो भएकोले किसान आफैले किनेर लगाउन नसक्ने अवस्था रहेको प्रमुख न्यौपानेले बताउनु भयो ।


हेमनाथ खतिवडा