रमजानमा गर्न लागेको दोश्रो चरणको निर्वाचनको विरोधमा प्रदर्शन

मुस्लिम समाज, सप्तरीले एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमा हुन लागेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन कार्यक्रमको विरोध जनाउँदै वैशाख २३ गते राजविराजमा प्रदर्शन गरेको छ ।

२० वर्षपछि हुन लागेको चुनावमा मुस्लिम समुदाय उत्साहित भएपनि रमजान पर्वका कारण मतदान गर्न पाउने मौलिक हकबाट वञ्चित बनिने भन्दै यहाँका मुस्लिम समुदायले घोषित दोस्रो चरणको निर्वाचन रमजान महिनाको अघि वा पछि सार्न मांग गर्दै विरोध प्रदर्शन गरेको हो ।

मुस्लिम समुदायको पवित्र रमजान महिना जेठ १३ गतेदेखि सुरु भई असार १३ गतेसम्म चल्ने र इद पर्व पनि सोही अवधिमा पर्ने भएकाले दोस्रो चरणको निर्वाचन मिति सच्याउनु पर्ने मुस्लिम समुदायको मांग छ ।

राजविराजस्थित स्थानीय शहीद दशन चोकबाट निस्केको जुलुस नगर परिक्रमा पश्चात सोही स्थानमा पुगी विरोध सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै मुस्लिम समाज सप्तरीका संयोजक एवम् पूर्व राज्यमन्त्री अनिस अन्सारीले दोस्रो चरणको निर्वाचन प्रक्रिया रमजानमा परेकाले मुस्लिम मतदाता र उम्मेदवारका आकाङ्क्षी सो अवसरबाट वञ्चित हुने भन्दै यसलाई अविलम्ब सच्याउनु पर्ने माग गरे । उनले राजविराज नगरपालिकाको घोषित सिमाङ्कनको संरचना पनि अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै सच्याउन माग गरे ।

यसअघि मुस्लिम समाज सप्तरीले प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्रमार्फत रमजानलाई ख्याल गर्दै निर्वाचनको मिति परिवर्तन गन माग गरेको थियो ।


मनोहरकुमार पोखरेल