रक्त संकलन केन्द्र (ब्लड बैंक) नहुँदा गर्भवती, सुत्केरी र बिरामीलाई सास्ती

  ०८१ भदौ १८ गते

जिल्लामा ब्लड बैंक सञ्चालनमा नहुँदा जिल्ला अस्पतालमा आउने बिरामीले आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन् । जिल्लामा ब्लड बैंक नहुँदा विशेष गरी गर्भवती, सुत्केरी र बिरामीहरुले सास्ती खेप्नुपरेको हो ।

रगत आवश्यक पर्दा बिरामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सर्वसाधारण र स्वास्थ्यकर्मीको भर पर्नु पर्ने बाध्यता छ ।

जिल्लामा ब्लड बैंक अत्यन्त आवश्यक रहेको छ । उपचारको लागि अस्पताल पुग्नेलाई रगत आवश्यक पर्छ । तर, अस्पतालमा ब्लड बैंक छैन् । बिरामी र आफन्तले ब्लडकै लागि भौतारिनु परेको छ ।

यस्तै समस्या ०८१ भदौ १० गते व्याँस गाउँपालिका–५ की सुत्केरी हुन जिल्ला अस्पताल पुग्नुभएकी एक महिलाले भोग्नु पर्यो । अस्पताल भर्नालगत्तै उहाँमा रगतको कमी देखियो । स्वास्थ्यकर्मीले बिरामीका आफन्तसँग रगत खोज्न आग्रह गर्नुभयो ।

गाउँकै चिनेका भुपेन्द्र विष्टले जिल्ला अस्पताल, दार्चुलामा सुत्केरीको लागि बी पोजेटिभ रगत आवश्यकता रहेको सामाजिक सञ्जालमा लेख्नुभयो । सामाजिक सञ्जालमा रक्तदानका लागि अनुरोध गरेको देखेपछि अनेरास्ववियु, दार्चुलाका अध्यक्ष नरेन्द्रप्रसाद जोशीले जिल्ला अस्पताल, दार्चुलामा पुगेर गर्भवतीलाई रगत दिनुभयो । जसको कारण भर्ववतीले सुरक्षित बच्चा पाउन सक्नु भयो । यो त पछिल्लो उहादरण मात्रै हो । यसरी दिनहुँजसो ब्लड बैंक खोज्नै बिरामी अस्पताल पुग्ने गर्छन् ।

धेरैको लागि आफ्नो सम्पर्कमा आएका साथीहरुबाट रगत व्यवस्थापनमा सहयोग गर्ने गरेको सामाजिक अभियन्ता अमित ऐरीले बताउनु भयो । विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ  । यस्तो बेला चिनेजानेका व्यक्तिहरुले रगतको लागि फोन गर्ने गर्छन्, अमितले भन्नु भयो, ‘आफूले प्रायजसो रगत चाहियो भनेर सामाजिक सञ्जालमा राखेर पटकपटक उपचार गराएको छु ।’

चिनजान र पहुँच भएकाहरुले सहज रुपमै सुरक्षाकर्मीबाट रगत माग्ने गर्छन् । तर, गाउँबाट आएकाहरु रगतकै लागि अस्पताल पुग्दा भौतारिनु पर्ने बाध्यता छ ।

जिल्ला अस्पतालमा रगतका लागि दाताको भर पर्नु पर्ने एक मात्र विकल्प रहेको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनु भयो । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गर्नु पर्ने बाध्यता छ । रगत राख्न त्यो प्रकारको औजार उपकरण हामीसँग छैन्, भट्टले भन्नु भयो । बिरामीलाई चाहिने बेला आफन्तमार्फत खोजी गर्न पठाउनु पर्ने बाध्यता छ ।

अस्पतालमा धेरैजसो रगत दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पुग्ने गरेको स्वास्थ्यकमीहरुको भनाइ छ ।

पछिल्लो समय दार्चुला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा विद्यार्थीको रक्त समूह पहिचान कार्य हुँदा रगत उपलब्ध गराउन सजिलो भएको स्ववियु सभापति कृष्णसिह धामीले बताउनु भयो । ‘पहिलो चरणमा झण्डै ३ सय विद्यार्थीको रक्त समूह छुट्याएका छौं’ उहाँले भन्नु भयो, ‘लगत्तै दोस्रो चरणमा नयाँ भर्ना भएका विद्यार्थीको रक्त समूह पहिचान गर्ने तयारी छ ।’

जिल्ला अस्पताल, दार्चुलामा ब्लड बैंक स्थापनाको लागि कसैले पहल नगर्दा समस्या भएको बिरामीका आफन्तको आरोप छ । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा दार्चुलाले आठ वर्ष अगाडी ब्लड बैंक सञ्चालन गर्न प्रयास गरेको भए पनि कहिकतैबाट सहयोग नपाएपछि बन्द गर्नुपरेको नेपाल रेडक्रस सोसाइटी, दार्चुलाका अध्यक्ष गोपालसिंह महरले बताउनु भयो ।

जिल्लामा ब्लड बैंक सञ्चालनमा नहुँदा बिरामी तथा बिरामीका परिवारहरुले सास्ती खेप्नु परेको भए पनि बजेट अभावका कारण यस वर्ष पनि व्लड बैँक सञ्चालन गर्ने सम्बन्धमा कुनै निर्णय नभएको माहाकाली नगरपालिका स्वास्थ्य शाखा संयोजक जयबहादुर फर्सनले बताउनु भयो ।


नरेन्द्रसिह कार्की