जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

  ०८१ साउन ७ गते

पाल्पामा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । जिल्लामा पाल्पा अस्पताल सहित दुई ओटा ठूला नीजि अस्पताल रहेका छन् । पाल्पा अस्पताल, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा अपरेशन लगायतका कार्यमा रगत माग हुने गर्दछ । तर ब्लड बैङ्क नहुँदा बिरामी र आफन्तहरू रगतको खोजीमा धेरै तिर चाहानुपर्ने अवस्था रहेको छ ।

रक्तदाता सङ्घ पाल्पाका अध्यक्ष भगवान भण्डारीले रगतको खोजीमा धेरै बिरामी र आफन्तले दुःख पाउँदै आएको बताउनु भयो । अस्पतालले अपरेशनका बेला रगत चाहिन्छ भन्छन्, तर रगत खोज्न धेरै समस्या भएको उहाँले भन्नुभयो । रगतकै लागि आफूलाई दैनिक पाँच जनासम्मले सम्पर्क गर्ने र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित रक्तदाताहरूसँग समन्वय गरी रगत उपलब्ध गराउन सहजीकरण गर्दै आएको उहाँले बताउनु भयो । बिरामीलाई आफू कसरी निको हुनेभन्दा पनि रगत कसरी खोज्ने भन्ने पिरलोले सताउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

रक्तदाता कमल ज्ञवालीले रगत चाहियो भनेर फोन आउने गरे पनि रगत दिने मान्छेको समस्या रहेको बताउनु भयो । 'युवाहरू विदेश जाने क्रम बढेको छ । बालबालिका र ज्येष्ठ नागरिकहरूले रगत दिन सक्ने अवस्था छैन । यसले पनि समस्या बढाएको छ', उहाँले भन्नुभयो । जिल्लामा विभिन्न सामाजिक सङ्घ संस्थाहरूले गर्ने रक्तदान कार्यक्रम मार्फत सङ्कलन गरिएको रगत पनि ब्लड बैङ्कको अभावमा लामो समय टिकाउन समस्या हुने गरेको छ । यसरी सङ्कलित रगत ३० देखि ३५ दिनभित्र पुर्नप्रयोग नभएमा स्वतः फाल्नुपर्ने हुन्छ ।

जिल्ला स्थित रेड्क्रस सोसाइटीले ब्लड बैङ्क सञ्चालनका लागि आवश्यक तयारी अगाडि बढाए पनि बजेटको भने अभाव छ । भवन निर्माण, उपकरण खरिद र सञ्चालन सहयोगार्थ अक्षयकोष निर्माणको प्रस्तावित बजेट तयार पारिएको रेड्क्रस सोसाइटी पाल्पाका सभापति बावुराम कार्कीले बताउनु भयो । रेड्क्रसले आर्थिक सङ्कलन अभियानलाई अगाडि बढाएको छ । यसका लागि २५ हजार सहयोग गर्ने व्यक्तिलाई रेड्क्रसको विशिष्ट सदस्यता प्रदान गर्ने र १ लाख रुपियाँभन्दा बढी सहयोग गर्ने व्यक्तिलाई एसएसकर सदस्यता प्रदान गरिने उहाँले बताउनु भयो ।

ब्लड बैङ्क सञ्चालनका लागि ५० लाख रुपियाँको जग्गा खरिद, १ करोड ५० लाख रुपियाँको भवन, ७९ लाख रुपियाँको उकपरण खरिद र ३ करोड रुपियाँको अक्षयकोष निर्माणको प्रस्तावित बजेट तयार गरिएको कार्कीले बताउनु भयो । नेपाल सरकारको सङ्घीय बजेट अन्तर्गत भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट १ करोड ५३ लाख रुपियाँ, स्वास्थ्य मन्त्रालयबाट ५० हजार रुपियाँ विनियोजन भएको बताइए पनि आधिकारिक रुपमा जानकारी प्राप्त नभएको उहाँले बताउनु भयो ।


यज्ञमूर्ति तिमिल्सिना