रकम भुक्तानी नहुँदा जनता आवासका सेवाग्राही मर्कामा

  ०७८ साउन ३१ गते

जनता आवास कार्यक्रम अन्तर्गत घर निमार्ण भएको दुई वर्ष बितिसक्दा समेत तेस्रो र चौथो किस्ताको रकम नपाउँदा सेवाग्राही मर्कामा परेका छन ।

साविकको शहरी विकास तथा भवन कार्यालय जुम्लाबाट हस्तान्तरण भई हाल जिल्ला पुर्वाधार विकास कार्यालयबाट जिल्लाका ३ सय ५० जना दलितले जनता आवास कार्यक्रम अन्तर्गत तीन कोठे घर निर्माण गरेका छन ।

९५ प्रतिशत सम्पन्न भई सक्दा समेत कार्यालयले रकम नदिँदा समस्या परेको छाँयानाथ रारा नगरपालिका-८ का ५८ वर्षीय कुशलाल बिटालुले बताउनु भयो ।

उहाँका अनुसार जनता आवास कार्यक्रममा छनौट भएका प्रत्येक व्यक्तिले ०७७ फागुनमा ३ लाख ५० हजार रूपियाँ अनुदानमा तीन कोठे एक तले घर निर्माण गर्ने सम्झौता गरेका थिए ।

काम सम्पन्न हुन लाग्दासम्म २ लाख १५ हजार रूपियाँ मात्र भुक्तानी पाएको तर तेस्रो र चौथो किस्ताको १ लाख ३५ हजार रूपियाँ नपाएको बिटालुले गुनासो गर्नुभयो ।

‘घर निमार्ण गर्दा ऋण लागेको छ, बेलैमा भुक्तानी नगर्दा कसरी तिर्ने भन्ने चिन्ता भयो’ खत्याड गाँउपालिका-४ का ४५ वर्षीय गोर्ख विकले दुःखेसो गर्नुभयो ।

मन्त्रालयले गत आर्थिक वर्षमा रकम व्यवस्था नगरेको कारण तेस्रो र चौथो किस्ताको रकम भुक्तानी गर्न नसकेको र चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैले बाँकी रकम पाउने पुर्वधार विकास कार्यालय मुगुका प्रमुख योगेन्द्र धरलाले बताउनु भयो ।


जिवन सेजुवाल