रकम अभावमा नौ वर्षदेखि महिला बन्दी गृह अलपत्र

आवश्यक बजेट निकासा नभएपछि पर्वतस्थित धौलागिरिकै पहिलो निर्माणधीन महिला बन्दी गृह अलपत्र परेको छ ।

निर्माण सुरू भएको नौ वर्ष बितिसक्दा पनि रकम निकासा नहुँदा पर्वत कारागारमा निर्माणाधीन अवस्थामा रहेको बन्दीगृह निर्माण कार्य प्रभावित बनेको हो ।

१५ जना क्षमताको सो बन्दी गृहका लागि आवश्यक ७२ लाख रुपियाँमध्ये १४ लाख रुपियाँ बजेट मात्र निकासा भएको थियो ।

photo20180820Parvat

आवश्यक रकम निकासा नभएपछि सो को बारेमा बारम्बार सम्बन्धित निकाय र विभागमा जानकारी गराए पनि बजेट निकासा हुन नसकेको पर्वत कारागारका जेलर मोहनप्रसाद उपाध्यायले बताए ।

‘बन्दी गृह निर्माण सुरू गरेको नौ वर्ष बितिसक्यो ।’–उनले भने–‘आर्थिक अभावले पूर्णता दिन सकिएको छैन ।’ उनका अनुसार निकासा भएको १४ लाख रुपियाँले पर्खाल निर्माणको आधा काम मात्र सकिएको छ । अहिले निर्माणाधीन महिला बन्दी गृहमा सिसौ र अन्य विभिन्न प्रजातिका रुखहरू उम्रिएका छन् ।

०६६ माघबाट निर्माण सुरू गरिएको बन्दी गृहको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन । निर्माण रोकिँदा निर्माण स्थल झारले भरिँदै आएको छ । एक वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ निर्माणको काम सुरू गरिएपनि समयमै बजेट निकासा नभएपछि योजना अलपत्र भएको कार्यालयले जानकारी दिएको छ ।

यो बन्दीगृहलार्ई धौलागिरी अञ्चलमै पहिलो महिला बन्दी गृहका रूपमा निर्माण सुरू गरिएको थियो । महिलाकै लागि भनेर निर्माण गरिएको यस गृहमा बागलुङ, म्याग्दी र मुस्ताङसम्मका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण कार्यको थालनी गरिएको थियो ।

२५ जना कैदीबन्दीको क्षमता भएको पर्वत कारागारमा अहिले ५ जना महिलासहित ७८ जना छन् । महिला बन्दी गृह नभएपछि कारागार भित्रै दुई भागमा महिला र पुरूष कैदीबन्दीलाई राखिएको जेलर उपाध्यायले बताए ।

महिला बन्दी गृह नबन्दा पुरुष कैदीबन्दी राख्ने ठाउँमा सङ्ख्या धेरै भएर समस्या उत्पन्न भएको बताउँदै जेलर उपाध्यायले महिला बन्दी गृह निर्माण सम्पन्न हुन सकेमा फराकिलो गरी राख्न सकिने बताए ।


सन्तोष थापा