रकम अपुग भएपछि द्वन्द्वपीडितले राहत पाएनन्

विगत द्वन्द्वको समयमा विस्थापित भएका परिवारहरूको नाममा आएको रकममा ८४ लाख ६९ हजार रुपियाँ अपुग भएको छ । द्वन्द्वको समयमा विद्रोही तथा राज्यपक्षबाट विस्थापित भएकाहरू २ सय ५२ परिवार मध्ये १ सय ४३ जनाको नाममा मात्रै रकम आएकाले थप व्यक्तिलाई दिन रकम अपुग भएको हो ।

जम्मा १ सय ४३ परिवारका १ हजार ४१ व्यक्तिलाई ५ हजार ३ सय ९८ रुपियाँका दरले ५४ लाख ७३ हजार ५ सय ७२ रुपियाँ आवश्यक पर्नेमा विस्थापित परिवारको नाममा १८ लाख २३ हजार रुपियाँ मात्र रकम आएको निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।

उनका अनुसार वर्णानुक्रम अनुसार २१ परिवारका १ सय ३४ जनालाई राहत रकम दिए पनि बाँकी १ सय २२ परिवारका ९ सय ७ जनाका लागि ८४ लाख ६९ हजार रुपियाँ रकम अपुग भएको हो । अपुग राहत रकम गृह मन्त्रालयमा माग गर्ने निर्णय गरी पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिए ।

निकासा आएको रकम वर्णानुक्रम अनुसार वितरण गरेपछि आफूलगायत धेरैजनाले राहत नपाएको शुभकालिका गाउँपालिका–७ का पीडित टेकबहादुर शाहीले गुनासो गरे ।

यस्तै विगत द्वन्द्वकालमा घरवारविहीन भई विस्थापित भएका महावोई गाउँपालिका–८ का राजेन्द्र थापाले आफ्नो नाम २ सय ५२ परिवार विस्थापित भित्र भएपनि रकम नआएको गुनासो गरे ।


कालीबहादुर मल्ल