यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २९ गते

१३ वर्षीया बालिकालाई यौन  दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का ४८ वर्षीय प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले साउन २८ गते बेलुका गिरफ्तार गरेको छ ।

प्रहरीले आरोपितलाई सोही नगरपालिका–५ जुगाड खोलाबाट गिरफ्तार गरेको हो । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय, जुम्लामा साउन २८ गते नै उजुरी दिनु भएको थियो ।
पीडित बालिका कक्षा चारमा अध्ययन गर्दै आउनु भएको थियो । बालिका अध्ययनरत विद्यालयकी शिक्षिकाले भन्नुभयो, ‘ती बालिका सुरुमा स्कुल आउँदा पढाइमा जागरुक थिइन् । केही समयपछि भने उनी विद्यालय आउँदा टोलाएर बस्ने गरेको देखेँ । मैले चासो दिएर सोधेँ । उनी बेस्सरी रुन थालिन् ।’

त्यो देखेपछि आफू समेत भक्कानिएको शिक्षिकाले बताउनु भयो । उहाँले भन्नुभयो सोध्दै जाँदा बालिकाले आफूमाथि करणी भएको बताइन् । त्यसपछि विद्यालयमा अभिभावक भेला बोलाएर यो विषयमा छलफल भयो । ‘बालिकाकी आमा समेत विद्यालयमा आउनु भयो । उनलाई मैले नराम्ररी झपारेँ पनि, शिक्षिकाले भन्नुभयो । शिक्षिकाले बालिकाकी आमालाई कानुनी रूपमा जान सुझाएको बताउनु भयो । तर उनी पैसामा मिलापत्र गरेको खबर सुन्न आयो ।’ बालिकामाथि करणी भएको कुरा उनको शरीर र अनुहारले बताएको छ ।

यौन दुव्र्यवहार घटनाका आरोपित महत एक महिनासम्म पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित महतले ती बालिकालाई पढाइदिने र घरायसी काममा सहयोग गर्ने भनी छोरी बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी ०७९ वैशाख महिनादेखि घरमा लगिएको थियो ।

आमाले दोस्रो विवाह गरेकाले पीडित बालिका जाजरकोट जिल्ला कुशे गाउँपालिकाबाट आमासँगै जुम्ला आएकी हुन् । आमाले बजारमा व्यापार गरी बस्न थालेपछि आमासँगै जुम्ला बजार आएकी हुन् । बालिकाकी आमा र आमाकी बहिनी नाता पर्ने ईश्वरी आरसीसँगको कुराकानीपछि बालिकालाई यौन दुव्र्यवहार घटनाका आरोपित महतले छोरी बनाएर पालनपोषण गर्ने भनेर लगेको बुझिएको छ ।
पीडित बालिकाका अनुसार महतले एक महिनासम्म पटक पटक करणी गरेको बुझिएको छ । महतले करणी गरेको कुरा अरूसँग नभन्न र सबैका अगाडि बाबा भन्ने राति आफूलाई पति स्विकार्न दवाव दिँदै आएको बुझिएको छ ।

छोरी बनाएर पाल्छु भनी लगेका महतले आफूलाई करणी गर्ने र अरूसँग भने मारिदिन्छु भन्ने धम्की दिएपछि पीडा सहन नसकेर बालिकाले मुसा मार्ने औषधि (विष) खाएको बताउनु भयो । उहाँले भन्नुभयो विष खादा बान्ता भएपछि घटनाका आरोपित महतले साबुनपानी खुवाए । त्यसको केही समयपछि महतले नै आमालाई फोन गरी छोरी बिरामी भएको खबर गरे ।

मइले उपचारका लागि छोरीलाई घरमा ल्याए । पीडित बालिकाकी आमाले भन्नुभयो, ‘छोरीले धेरै बान्ता गर्दा शंका लागी सोध्दा महतले करणी गर्ने गरेको र कुनै उपाय नदेखेर विष खान बाध्य भएको छोरीले बताइन् ।’

पैसाको प्रलोभनमा पारेर साउन तेस्रो साता घटना मिलापत्र भएको पीडित बालिकाकी आमाले बताउनु भयो । जुम्लामा स्कुल जाने वातावरण नभएपछि बालिकालाई मामाघर जाजरकोट पठाइएको छ । यौन दुव्र्यवहार घटनाका आरोपित महतबाट मिलापत्रका लागि सात लाख रकम रुपियाँ दिइएको एक कागजमा उल्लेख छ । बालिकाकी आमाले भन्नुभयो, ‘एक लाख उनीहरूले नै बाँडेर लगे ।

एकजनाले १५ हजार र अरूले कुरा मिलाएको भन्दै सबैजनाले दश दश हजार गरी लिएका हुन् । बाँकी ६ लाख रुपियाँ पीडित बालिकाको जुम्लामा रहेको माछेपुच्छ्रे बैंकको खातामा राखिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार यौन दुव्र्यवहार घटनाका आरोपित महतलाई पक्राउ गरेका छौँ । उहाँले भन्नुभयो अहिले हामी घटनाको अनुसन्धान प्रक्रियामा छौँ । पीडित बालिका जिल्ला बाहिर रहेकीले स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको छ ।

पीडित जाजरकोट भएकाले स्वास्थ्य परिक्षण नभएको प्रहरीले जनाएको छ । पीडितलाई झिकाई स्वास्थ्य परिक्षण गरिने डीएसपी चन्दले जानकारी दिनु भयो ।

करणी सम्बन्धी कसुर र सजाय
२०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता कार्यान्वयनमा आएको छ र अलग प्रकृतिका कसुर यी कानुनले अलग–अलग हेर्ने गर्दछ । अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसुर र त्यसको दण्ड व्यवस्थाबारे उल्लेख छ । जसको दफा २१९ मा जबरजस्ती करणी गर्न नहुने उल्लेख छ । त्यसरी कानुनले नगर्न भनिएको कुरा गरेमा कुन–कुन अवस्थामा के–कति दण्ड–सजाय हुने भन्ने प्रष्ट गरिएको छ ।

दफा २१९ को उपदफा (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ । मुलुकी अपराध संहिता, २०७४ परिच्छेद– १८ करणी सम्बन्धी कसुर यस्तो व्यवस्था गरेको छ ।

 


मानदत्त रावल