यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ ९ गते

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी चौकी तारापट्टीले मिथिला विहारी नपा–९ अन्दुपटटीका २० वर्षीय चन्दनकुमार यादवलाई जेठ ७ गते गिरफ्तार गरेको छ ।

जेठ ७ गते दिउँसो ४ बजे शौच गर्न गएका बालकलाई यादवले यौन दुर्व्यवहार गरेको पीडित बालकले आरोप लगाएका छन् ।

 घाइते बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई अनुसन्धान थालिएको डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो ।

प्रहरीले आरोपित यादवलाई गिरफ्तार गर्दा पीडितका बुबामाथि कुटपिट गरेको आरोप छ । मिथिला बिहारी नपा–९ बाट वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवका सहयोगीहरूले घटना गाउँमै मिलापत्र गरिनुपर्ने बताउँदै आफूमाथि कुटपिट गरेको पीडित बालकका बुबाको आरोप छ ।

वडाध्यक्षका सहयोगी राजकिशोर यादव, पुरण यादव र भजन यादवले आफूमाथि कुटपिट गरेको बालकका बुबाले आरोप लगाएका छन् ।

वडाध्यक्षमा निर्वाचित विन्देश्वर यादवले चुनाव अघि नै आफूलाई सघाउन दबाब दिँदै आएको र चुनावमा नसघाए जितेपछि कुनै घटना घटाइदिने धम्की दिएकाले वडाध्यक्षकै मिलोमतोमा चन्दन कुमार यादवले छोरामाथि यौन दुर्‍व्यवहार गरेको पीडित परिवारको आरोप छ ।


दिपेन्द्रप्रसाद सिंह