यौन दुर्व्यवहार र बलात्कार घटनाका आरोपित गिरफ्तार

यौन दुर्व्यवहार र बलात्कारका छुट्टाछुट्टै घटनाका तीनजना आरोपितलाई प्रहरीले असोज १ गते गिरफ्तार गरको छ ।

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का २१ वर्षीय जितेन्द्र लोधलाई असोज १ गते तिलोत्तमा नपा–२ बाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते यौन दुर्व्यवहार गरेको पीडितकी आमाले देखेपछि सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

घटना सार्वजनिक भएपछि फरार रहेका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमोध ढुङ्गेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २५गते भिम अस्पताल भैरहवामा गरिएको थियो ।

त्यसैगरी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका–२ मैनहियाका २४ वर्षीय विजय यादवलाई असोज १ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १ गते बलात्कार गरेको घटनाका बारेमा कसैलाई नभन्न धम्की दिएको थियो । बालिका गर्भवती भएको थाहा पाएपछि बालिकाकी आमाले जिल्लाप्रहरी कार्यालयमा असोज १ गते उजुरी दिएकी छन् ।

पीडित बालिकाको असोज १ गते भिम अस्पताल भैरहवामा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनायो ।

त्यसैगरी १० वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका–१८ स्थायी घर भएका १८ वर्षीय जनक वस्याललाई असोज १ गते तिलोत्तमा नपा–६ मणिग्रामबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३१ गते यौन दुर्व्यवहार गरेको र बालिका चिच्याएपछि भागेको भनी बालिकाकी आमाले असोज १ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।


रीमा विसी