यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

  ०७७ चैत १२ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतको मधुवनी जिल्ला जयनगर घर भई कर्जन्हा नपा–३ मा बस्ने ४० वर्षीय किसुन मुखियाविरुद्धको मुद्दा जिल्ला अदालत सिरहाले चैत १० गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश ध्रुबकुमार उप्रेतीको इजलासले सो फैसला गरेको हो । मुखिया घटनापछि हालसम्म फरार रहेकाले मुद्दा मुल्तबीमा राखिएको अदालतले जनाएको छ ।

पीडित बालिकालाई मुखियाले ०७४ फागुन २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपितको खोजी कार्य जारी राखेको जनाएको छ ।


दुर्गा परियार