यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

  ०८० वैशाख २२ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मन्थली नगरपालिका-३ ठुलीमदौका ४२ वर्षीय रामकुमार नेपालीलाई प्रहरीले ०८० वैशाख २१ गते गिरफ्तार गरेको छ ।

प्रहरीले नेपालीलाई मन्थली नगरपालिका-१ बाट गिरफ्तार गरी जिल्ला अदालतमा बुझाएको र सोही दिन सजाय भुक्तानको लागि कारागार रामेछापमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्सपेक्टर राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।

पीडित बालिकालाई नेपालीले ०७८ माघ ३ गते साँझ घरमा कोही नभएको बेला आफ्नो घर लैजाने क्रममा वनको खोल्सामा यौन दुर्व्यवहार गर्न लागेको र भागेर बच्न सफल भएको पीडित पक्षले जनाएको छ ।

पीडित पक्षले ०७८ माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन मन्थली अस्पताल रामेछापमा गरिएको थियो ।

नेपाली माघ २९ गते गिरफ्तार भएका थिए ।

प्रहरीले जिल्ला अदालतमा ०७८ फागुन १८ गते मुद्दा दर्ता गरेकोमा जिल्ला न्यायाधीश बद्रिप्रसाद ओलीको आदेशले आरोपित पुर्पक्षका लागि २५ हजार रुपियाँ धरौटी राखी फागुन २० गते तारेखमा रिहा भएका थिए ।

न्यायाधीश इन्दिरा शर्माको इजलासले ०७९ भदौ ९ गते नेपालीविरूद्धको अभियोग दावी पुग्ने अन्तिम आदेश गर्दै ५ महिना ९ दिन कैद सजाय, पाँच हजार रुपियाँ जरिवाना र एक हजार पाँच सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको थियो ।

कैद सजायको फैसलापछि नेपालीको खोजतलासका क्रममा ०८० वैशाख २१ गते गिरफ्तार भएको इन्सपेक्टर ढकालले बताउनु भयो ।


नवराज पथिक