यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रधानाध्यापक भक्तराज बोहोरालाई प्रहरीले ०८० फागुन ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विद्यालयको होस्टलमा पटक पटक यौन दुर्व्यवहार गर्दै आएको र सो घटना सार्वजनिक भएपछि विद्यार्थीले नारावाजी सहित प्रधानाध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् ।

घटनाका आरोपित विरुद्ध पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो । सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, जिरीका इन्स्पेक्टर शरण महर्जनले इन्सेकलाई जानकारी दिनुभयो ।

इन्स्पेक्टर महर्जनका अनुसार घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।


उद्धब पोखरेल