यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक १ गते

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका–११ आम्तेकका ३३ वर्षीय पर्वत राईलाई घटना भएको ११ वर्षपछि गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०६८ असार २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७२ भदौ २४ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको ०७२ असोज ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो ।

अदालतबाट मुद्दा फैसला भएका कसुरदारलाई अदालतमा उपस्थित गराएर सजाय भुक्तानका लागि प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शिशिर थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०६८ असोज १६ गते गरिएको थियो ।


गणेश विष्ट