यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ५ गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धुलिखेलबाट १४ वर्षीय बालकलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।

बालिकालाई घर नजिकैको शौचालयमा लगेर माघ ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते दिएको उजुरीको आधारमा गिरफ्तार गरेको डिएसपी कुमारविक्रम थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते धुलिखेल अस्पतालमा गरिएको डिएसपी थापाले जानकारी दिनु भयो ।

आरोपित बालकविरुद्ध करणी सम्बन्धी कसुरको दफा २१९ अनुसार जबरजस्ती करणी गर्न नहुने शीर्षकमा २०७७ फागुन २ गते मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


हिरामान तामाङ