यौन दुर्व्यवहार घटनाकाे कसुरमा कैद सजाय

  ०८१ साउन ३२ गते

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा खडक नगरपालिका-३ का २० वर्षीय भविया भनिने मो. नजामलाई २०८१ साउन ३१ गते ६ महिना कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले आरोपितलाई ६ महिना कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ । ढिलो गरी १०औं पेशीमा फैसला हुँदा आरोपितले पाएको कैद सजाय भन्दा ५ महिना बढी कैद भोगिसकेका थिए ।

बालकलाई ०७७ जेठ ९ गते आरोपितले अप्राकृतिक मैथुन गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७७ जेठ ११ गते उजुरी दिनुभएको थियो । आरोपितले ईद उल फित्रको दिन फकाई फुल्याई खडक नगरपालिका-३ बनरझुलास्थित ईदगाहा चौरमा लगेर अप्राकृतिक मैथुन गरेको पीडितले बताउनु भयो ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७७ जेठ १२ गते स्वास्थ्य परीक्षण भएको थियो । इलाका प्रहरी कार्यालय कडरबोनाले ०७७ जेठ १७ गते उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतबाट आरोपितविरुद्ध ०७७ असार १६ गते पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेका आरोपित ०८० भदौ २५ गते हाजिर भएपछि मुद्दा मुल्तबीबाट जागेकोमा जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले भदौ २६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।


मनोहरकुमार पोखरेल